काठमाडौं , पुस २ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ। एमाले नेता राजेन्द्र गौतमले मतदान सकिएको दुई घण्टाभित्र मतगणना सम्पन्न गरी नतिजा सार्वजनिक गरिने बताएका छन्।
बुधबार बिहान काठमाडौंको भृकुटीमण्डपस्थित मतदान स्थलमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै गौतमले राति साढे १० बजेसम्म नतिजा आउने विश्वास व्यक्त गरे। उनले मतदान प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको र निर्धारित समयमै मतदान सकिने बताए।
गौतमका अनुसार पार्टीको कुल मतदाता संख्या र प्रयोगमा ल्याइएका इलेक्ट्रोनिक भोटिङ मेसिनको क्षमतालाई आधार मानेर समय निर्धारण गरिएको हो। ‘एक जना मतदातालाई मतदान गर्न करिब २० मिनेट लाग्ने व्यवस्था गरिएको छ र एकपटकमा ८० जनाले मतदान गर्न सक्ने प्रणाली छ,’ उनले भने, ‘यस हिसाबले हेर्दा आठदेखि साढे आठ घण्टाभित्र मतदान सकिने हाम्रो अनुमान छ।’
निर्वाचन आयोगले दिएको कार्यतालिकाअनुसार नै मतदान प्रक्रिया अघि बढिरहेको गौतमले स्पष्ट पारे। मतदान सम्पन्न भएपछि तुरुन्तै मतगणना सुरु गरिने र दुई घण्टाभित्र अन्तिम नतिजा सार्वजनिक गरिने उनको भनाइ छ।
एमालेको महाधिवेशन अन्तर्गत भइरहेको यो निर्वाचनलाई पार्टीभित्रको नेतृत्व चयनका हिसाबले निकै महत्वपूर्ण मानिएको छ। नयाँ नेतृत्वको घोषणासँगै पार्टीको आगामी राजनीतिक दिशा र रणनीति तय हुने अपेक्षा गरिएको छ।
भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको पार्टी स्रोतले जनाएको छ।




