जनकपुरधाम, पुस २ । मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ। प्रदेशसभा उपसभामुख बबिता राउतका अनुसार पुस ६ गते बस्ने प्रदेशसभा बैठकमार्फत आवश्यक निर्वाचन प्रक्रिया पुरा गरी नयाँ सभामुख चयन गरिनेछ।
सभामुख चयनका लागि आवश्यक प्रक्रिया सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ। यसअघि बुधबार नै निर्वाचन प्रक्रिया अघि बढाइने भनिएको थियो, तर नेकपा (एमाले) को ११ औँ महाधिवेशनका कारण प्रक्रिया स्थगित गरिएको थियो। एमालेका प्रदेशसभा सदस्यहरू महाधिवेशनमा व्यस्त रहेकाले सभामुख चयन केही समयका लागि पछाडि धकेलिएको सचिवालयले जनाएको छ।
अब पुस ६ गतेको बैठकबाट मधेस प्रदेशसभाले नयाँ सभामुख पाउने अपेक्षा गरिएको छ। यससँगै प्रदेशसभामा स्थिर नेतृत्व आएपछि आगामी विधायिक कार्यहरू र विकाससम्बन्धी निर्णयहरूलाई गति मिल्ने विश्वास गरिएको छ।






