ओम प्रकाश यादव
रौतहट, पुस २। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले रौतहट जिल्लाका तीनवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट सशक्त, लोकप्रिय र जनआधार भएका नेताहरूको एकल नाम सिफारिस गर्दै आगामी निर्वाचनका लागि आफ्नो राजनीतिक शक्ति र आत्मविश्वास स्पष्ट रूपमा प्रस्तुत गरेको छ।
जसपा नेपालले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा रौतहट क्षेत्र नं. १ बाट पूर्व मन्त्री योगेन्द्र राय यादव, क्षेत्र नं. ३ बाट केन्द्रीय उपाध्यक्ष एवं पूर्व मन्त्री गोविन्द चौधरी र क्षेत्र नं. ४ बाट युवा तथा प्रखर वक्ता राजकुमार दासको नाम एकल रूपमा सिफारिस गरेको हो।
हिजो जिल्लाका विभिन्न स्थानमा सम्पन्न जसपा नेपाल रौतहटका क्षेत्रीय बैठकहरूले क्षेत्र नं. १, ३ र ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेका हुन्।
पार्टीभित्रको एकता, संगठनात्मक अनुशासन र जनताको विश्वासको प्रतिफलस्वरूप यी नामहरू सर्वसम्मत रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जसपा नेपालले क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादवलाई उम्मेदवार बनाएको छ।
त्यस्तै, क्षेत्र नं. ३ बाट जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं अनुभवी राजनीतिज्ञ पूर्व मन्त्री गोविन्द चौधरीलाई उम्मेदवारका रूपमा अघि सारेको छ।
क्षेत्र नं. ४ बाट दलित विकास समिति मधेश प्रदेशका पूर्व सदस्य, जसपा नेपालका पूर्व मधेश प्रदेशसभा सदस्य तथा रौतहट जिल्ला सह–इन्चार्जको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका प्रखर वक्ता राजकुमार दासलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
यी तीनै जना नेताहरू जनताका दुःख सुखमा सधैं साथ दिने, विकास र समावेशी राजनीतिको स्पष्ट दृष्टिकोण बोकेका तथा जनविश्वास जित्न सफल पात्रका रूपमा परिचित छन्।
जनतामाझ उनीहरूको गहिरो पकड र दीर्घ योगदानका कारण आगामी निर्वाचनमा जसपा नेपालका उम्मेदवारहरूलाई पराजित गर्नु असम्भवजस्तै रहेको दाबी पार्टीले गरेको छ।
तीनै उम्मेदवार जनतामाझ लोकप्रिय, संघर्षशील र जनजीविकासँग प्रत्यक्ष जोडिएका नेतृत्वका रूपमा परिचित छन्।
उनीहरूले आ–आफ्नो क्षेत्रमा लामो समयदेखि गरेको राजनीतिक संघर्ष, सामाजिक न्यायप्रतिको प्रतिबद्धता र जनहितमा आधारित कार्यसम्पादनले उनीहरूलाई जनताका विश्वासिला प्रतिनिधिका रूपमा स्थापित गरेको छ।
स्थानीय स्तरका समस्या कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र दलित तथा सीमान्तकृत समुदायको अधिकारका सवालमा उनीहरूले निरन्तर आवाज उठाउँदै आएका छन्।
सत्तामा हुँदा होस् वा प्रतिपक्षमा, जनताको पक्षमा अडिग रहँदै स्पष्ट र निर्भीक धारणा राख्ने उनीहरूको शैलीले आम जनताको मन जित्न सफल भएको स्थानीय जानकारहरूको भनाइ छ।
विशेष गरी मधेश आन्दोलनदेखि जनअधिकार, पहिचान र समावेशी प्रतिनिधित्वका मुद्दामा उनीहरूको सक्रिय भूमिका रहँदै आएको छ। यही कारण उनीहरू केवल उम्मेदवार मात्र नभई जनआशाको प्रतीकका रूपमा हेरिन थालेका छन्।
पार्टी संगठनलाई बलियो बनाउनेदेखि जनस्तरमा भरोसा सिर्जना गर्नसम्मको यात्रामा उनीहरूको योगदान उल्लेखनीय रहेको जसपा नेपाल रौतहटले जनाएको छ।
यही लोकप्रियता, संघर्षशीलता र जनजीविकासँगको गहिरो सम्बन्धका कारण आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीनै उम्मेदवारलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरिएको छ।
जनताको भावना, विश्वास र समर्थन स्पष्ट रूपमा आफ्नो पक्षमा रहेको उल्लेख गर्दै जसपा नेपालले रौतहट क्षेत्र नं। १, ३ र ४ बाट हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो विजय सुनिश्चित हुने दृढ विश्वास व्यक्त गरेको छ।




