काठमाडौं , पुस ३ । नेकपा एमालेको उपमहासचिव पदमा विष्णु रिमाल पराजित भएका छन् । नवौं महाधिवेशनमा सचिव पदमा पराजय भोगेपछि दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको सूचीबाट उपमहासचिव निर्वाचित भएका रिमाल यसपटक भने सो पद दोहोर्याउन असफल भएका हुन् ।
रिमाल लामो समयदेखि अध्यक्ष ओलीका ‘राजनीतिक व्यवस्थापक’का रूपमा परिचित थिए । ओली अध्यक्ष र शंकर पोखरेल महासचिवमा दोहोरिए पनि रिमाल भने उक्त नेतृत्व सेटमा समेटिन सकेनन् । प्राप्त मतपरिणामले ओली समूहभित्रैबाट समेत उनलाई अपेक्षित सहयोग नपाएको संकेत गरेको छ ।
एमालेमा तीन उपमहासचिव पदका लागि भएको प्रतिस्पर्धामा लेखराज भट्टले १ हजार ४५२, रघुवीर महासेठले १ हजार ३६८ र योगेश भट्टराईले १ हजार ३४८ मत प्राप्त गरी विजयी भए । रिमालले १ हजार ९१ मत मात्रै पाएपछि पराजित भएका हुन् ।
ओली चारपटक प्रधानमन्त्री हुँदा रिमाल मुख्य राजनीतिक सल्लाहकारको भूमिकामा थिए । सरकार र पार्टीका रणनीति, कार्ययोजना तथा संगठनात्मक डिजाइनमा उनको प्रभावकारी भूमिका रहँदै आएको थियो । पार्टी प्रणालीलाई डिजिटल र टेक्नोमैत्री बनाउने तथा ओलीको डिजिटल ब्रान्डिङमा उनले विशेष काम गरेका थिए ।
तर यही शैलीका कारण उनी पार्टीभित्र आलोचित पनि थिए । शक्ति अत्यधिक केन्द्रित गरेको, नेता–कार्यकर्ताबीच दूरी बढाएको र निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित गरेको आरोप उनीमाथि लाग्दै आएको थियो । बालुवाटारमा रहँदा पार्टीका नेताहरूलाई समेत सहज पहुँच नदिएको गुनासो पनि उठ्ने गर्थ्यो ।
२०७८ को दशौं महाधिवेशनपछि उपमहासचिव बनेका रिमालले वित्त विभाग र निर्वाचन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए । प्रभावकारी व्यवस्थापक भए पनि पार्टीभित्र सुदृढ नेटवर्क विस्तारमा कमजोर देखिएको महाधिवेशनको परिणामले देखाएको छ ।






