सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च



काठमाडौं , पुस  ३ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दो क्रममा रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबार(३ पुस) का लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनहरूमा सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ । महासंघका अनुसार गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । यद्यपि बिहीबारको मूल्य त्यो रेकर्डभन्दा केही कम भए पनि सुन अझै उच्च विन्दुमा कायम रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको उतारचढाव र भू–राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा नेपाली बजारमा पनि सुनको मूल्य प्रभावित भएको व्यवसायीहरू बताउँछन् । चाडपर्वको समय सकिए पनि लगानीका लागि सुनप्रति आकर्षण कायम रहँदा मूल्य उच्च रहेको विश्लेषण गरिएको छ ।

यसैगरी, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो । लगातार दुई दिनयता चाँदीले हालसम्मकै उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।

सुनचाँदी व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्वदेशी माग र आपूर्तिको अवस्थाले पनि मूल्य निर्धारणमा भूमिका खेलेको छ । यदि अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य थप बढेमा आगामी दिनमा नेपाली बजारमा पनि मूल्य अझै उकालो लाग्ने सम्भावना रहेको उनीहरूको अनुमान छ ।

प्रकाशित मिति: २०८२ पुष ४, बिहिवार ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको