जनकपुरधाम, पुस ३ । पुस ४ गते देखी जनकपुरधाममा शुरु हुने नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।
महाधिवेशनको पूर्व सन्ध्यामा कार्यक्रम स्थलमै आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भई पाहुनाहरु आउने क्रम शुरु भइ सकेको जनाएको छ ।
जनकपुर जेसिजले आतिथ्यता गर्ने अवसर पाएको नेपाल जेसिजको राष्ट्रिय सम्मेलन तथा महाधिवेशन भोली देखी शुरु भई ४ दिन सम्म चल्ने जनाइएको छ ।
जेसिजको ४ दिवसीय राष्ट्रिय सम्मेलनमा शुक्रवार उदघाटन सत्र हुने र त्यसपछि बाँकी ३ दिन ओरेटरी कन्टेक्सट, थिम सेमिनार, राष्ट्रिय एसेम्बलीको आयोजनाका साथै नेपाल जेसिजले तय गरेका कार्यक्रमहरु हुने जनाएको छ । यसका साथै एसेम्बली मार्फत नै मतदान प्रकृयाबाट सन् २०२६का लागि नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको जनकपुर जेसिजका पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक सुधिर पजियारले जानकारी दिए ।
राष्ट्रिय सम्मेलनमा देशभरीको जेसिजको शाखाबाट ३ हजार बढीको सहभागिता रहनेछ । सम्मेलनमा ३ करोड बढीको खर्च हुने अनुमान गरिएको कार्यक्रमका लागि १ करोड २० लाख जनकपुरधाम आउने डेलिगेट्सको रजिष्ट्रेशनवापत उठाइने छ भने बाँकी खर्च प्रायोजकहरु मार्फत उठाइने जानकारी पजियारले दिए ।
जनकपुरधाममा हुने महाधिवेशनले जनकपुरधामको प्रचार प्रसार तथा पर्यटकहरुलाई जनकपुरधाम चिन्हाउने उत्तम अवसर रहेको छ ।




