एमाले पदाधिकारीमा एक्ली महिला : पद्मा अर्याल



काठमाडौं , पुस ३ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये पद्मा अर्याल एक्ली महिला बनेकी छन् । सचिव पदमा उम्मेदवार बनेकी नेतृ अर्याल १ हजार ५३० मत प्राप्त गर्दै दोस्रो लोकप्रिय मतसहित विजयी भएकी हुन् ।

महाधिवेशनबाट अध्यक्ष, महासचिव, उपाध्यक्ष, उपमहासचिव र सचिवसहित कुल १९ जना पदाधिकारी निर्वाचित हुँदा अर्याल मात्र महिला प्रतिनिधि बन्न सफल भएकी हुन् । यसले एमालेभित्र महिला प्रतिनिधित्वको अवस्थाबारे पुनः बहस सुरु गराएको छ । पार्टीको नेतृत्व तहमा महिला सहभागिता न्यून रहँदा अर्यालको विजयलाई विशेष अर्थका साथ हेरिएको छ ।

अर्याल यसअघि पनि पार्टीभित्र महिला नेतृत्वको पहिचान बनाइसकेकी नेतृ हुन् । २०६९ सालमा उनी नेकपा एमाले स्याङ्जाको जिल्ला अध्यक्ष निर्वाचित हुँदा देशभरकै एक्ली महिला जिल्ला अध्यक्ष बनेकी थिइन् । उक्त रेकर्डसँगै उनी संगठनात्मक क्षमताका कारण पार्टीभित्र स्थापित नेतृका रूपमा चिनिँदै आएकी छन् ।

मंसिर २०७८ मा सम्पन्न दशौँ महाधिवेशनबाट पनि अर्याल सचिव पदमा निर्वाचित भएकी थिइन् । उक्त महाधिवेशनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित दुई महिला पदाधिकारी निर्वाचित भएका थिए । तर ११औँ महाधिवेशनमा शाक्यले उम्मेदवारी नदिँदा अर्याल मात्र महिला पदाधिकारीका रूपमा निर्वाचित हुन पुगेकी हुन् ।

यसअघि २०७१ असारमा भएको नवौँ महाधिवेशनमा पनि अर्याल लोकप्रिय मतका साथ केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । निरन्तर निर्वाचनमा उच्च मत ल्याउँदै आएकी उनी पार्टी कार्यकर्तामाझ लोकप्रिय नेतृका रूपमा परिचित छन् ।

यसपटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी विन्दा पाण्डे र सचिव पदमा प्रतिस्पर्धा गरेकी रचना खड्का भने पराजित भएका छन् । महाधिवेशनको परिणामले एमालेभित्र महिला नेतृत्व विस्तारमा अझै चुनौती रहेको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति: २०८२ पुष ४, बिहिवार १४:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको