काठमाडौं , पुस ३ । नेकपा(एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत महासचिव पदका लागि भइरहेको निर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको छ । महासचिव पदका दुई मुख्य उम्मेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच मतान्तर न्यून हुँदै प्रतिस्पर्धा तीव्र बन्दै गएको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार शंकर पोखरेलले ३६४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ३०२ मत पाउँदै पोखरेललाई कडा चुनौती दिइरहेका छन् । हाल दुवै उम्मेदवारबीच ६२ मतको अन्तर रहेको छ ।
सुरुमा पोखरेलले केही अग्रता लिए पनि मतगणना अघि बढ्दै जाँदा पाण्डेले मत अन्तर घटाउँदै प्रतिस्पर्धालाई रोचक बनाएका छन् । महासचिव पद पार्टी संगठन सञ्चालनका हिसाबले अत्यन्त महत्वपूर्ण मानिने भएकाले यस पदको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ ।
भृकुटीमण्डपमा जारी मतगणनाका क्रममा उम्मेदवारहरू, नेता तथा प्रतिनिधिहरू मोबाइल फोनमार्फत मतपरिणामको अपडेट लिँदै देखिएका छन् । विद्युतीय मतदान प्रणाली प्रयोग गरिएकाले मतगणना छिटो–छिटो अगाडि बढिरहेको छ ।
महासचिव पदको नतिजाले एमालेको भावी संगठनात्मक दिशा, कार्यशैली र रणनीतिमा प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ । त्यसैले पार्टीभित्र मात्र होइन, बाहिरका राजनीतिक वृत्तमा पनि यो प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । बाँकी मतको गणनाले नतिजामा परिवर्तन ल्याउने सम्भावना कायमै रहेकाले दुवै पक्ष सतर्क र आशावादी देखिएका छन् ।




