मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच विश्वास आवश्यक : उपराष्ट्रपति यादव



ललितपुर, पुस ३ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच आपसी विश्वास अपरिहार्य रहेको बताउनुभएको छ। कृषि, जलस्रोत, पर्यटन र पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्न सके रोजगारी सिर्जना, आय वृद्धि र उत्पादन विस्तार सम्भव हुने उहाँको भनाइ छ।

गोरखापत्र संस्थानद्वारा पुल्चोक, ललितपुरमा आयोजित ‘दृढतासहित पुनरुत्थानस् गोरखापत्र विमर्श’ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले हालै देखिएको ‘जेनजी’ पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको उल्लेख गर्नुभयो। उहाँले पारदर्शिता, सुशासन, भ्रष्टाचारमुक्त समाज र रोजगारी सुनिश्चित गर्ने विषयमा निचोडमुखी आर्थिक बहस आवश्यक रहेकोमा जोड दिनुभयो।

उपराष्ट्रपति यादवले अन्तरिम सरकारका लागि निर्वाचन प्राथमिकता भए पनि आर्थिक विकासलाई समान महत्व दिनुपर्ने चुनौती रहेको उल्लेख गर्नुभयो। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो।

गोरखापत्र संस्थानले एक शताब्दीभन्दा बढी समयदेखि सत्य, विश्वसनीय सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दै आएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले ४६ वटा राष्ट्रिय भाषामा सामग्री प्रकाशनमार्फत समावेशी समाज निर्माण र राष्ट्रिय एकता सुदृढ गर्न संस्थानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

डिजिटल युगमा पत्रकारिताले तथ्यपरकता र विश्वसनीयता कायम राख्दै अभिलेखीकरणीय पत्रकारितामार्फत भविष्यका पुस्ताका लागि अमूल्य सम्पदा निर्माण गर्नुपर्ने उहाँको धारणा थियो। साथै, गोरखापत्रलाई आधुनिक प्रविधिसँग सुसंगत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

गोरखापत्र दैनिक १२५औँ वर्षमा प्रवेश गरेको तथा ‘दी राइजिङ नेपाल’ ६१औँ वर्ष पुगेको अवसरमा उपराष्ट्रपतिले संस्थानलाई बधाई दिँदै, आर्थिक बहस कार्यक्रममा सरकारका उच्च अधिकारी, नीति निर्माता, उद्योगी–व्यवसायी, विज्ञ तथा सञ्चारकर्मीको सहभागितालाई सकारात्मक रूपमा मूल्याङ्कन गर्नुभयो।

उहाँले गोरखापत्रलाई राष्ट्रको आधिकारिक आवाजका रूपमा लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र राष्ट्रिय एकताको प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आएको संस्थानको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो।

प्रकाशित मिति: २०८२ पुष ४, बिहिवार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको