जनकपुरधाम , पुस ४ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव आज विश्वासको मत लिने भएका छन । ६ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त यादव नियुक्तको १५ औ दिनमा विश्वासको मत लिन लागेका हुन । विश्वासको मतको लागि आज अपराह्न ४ प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
मंसिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार ६ दलका सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले आज सदनमा बहुमत प्रमाणित गर्नेछन्। सरकार गठनपछि सत्तारुढ दलबीच भएको सहमतिअनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो।
गत सोमबार मधेश भवनमा बसेको सात दलको बैठकले विश्वासको मत लिने निर्णय गरेपछि यादवले औपचारिक पत्र प्रदेश सभामा पठाएका थिए। साधारण बहुमत आवश्यक भए पनि यादवसँग दुई तिहाइभन्दा बढी समर्थन रहेको बताइएको छ। यसअघि मुख्यमन्त्री रहेका सरोजकुमार यादवले विश्वासको मत नपाए पनि नयाँ सरकारलाई समर्थन गर्ने सार्वजनिक अभिव्यक्ति दिएकाले आज लगभग सर्वसम्मत मत पाउने अनुमान गरिएको छ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा एमाले २५ (१ निलम्बित) , नेपाली कांग्रेस २२, जनता समाजवादी पार्टी नेपाल १९ (१ निलम्बित) , जनमत पार्टी १३,
माओवादी केन्द्र ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९ (१ निलम्बित), नेकपा एकीकृत समाजवादी ७ , तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी १/१ सदस्य रहेको छ ।
मुख्यमन्त्री यादवको विश्वासको मतपछि प्रदेश सरकारको स्थायित्व थप मजबुत हुने अपेक्षा गरिएको छ। यसबाट प्रदेशको राजनीतिक स्थायित्व र आगामी योजनाहरू अघि बढाउने वातावरण तयार हुने नेताहरूले बताएका छन्।




