जेलबाट छुटेपछि रवि लामिछानेको भनाइ– मेरो न्यायको लडाइँ अझै बाँकी छ



रुपन्देही, पुस ४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू जेलबाट छुटे पनि न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्। जिल्ला अदालत रुपन्देहीमा बैंक जमानत बुझाएर रिहा भएपछि शुक्रबार साँझ आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले न्यायका लागि संघर्ष जारी रहने स्पष्ट पारेका हुन्।

समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले भने, “न्यायको यो लडाइँ मेरो मात्रै होइन, तपाईंहरूका लागि र यो देशको न्यायका लागि हो। लड्न अझै बाँकी छ।” उनले आफूविरुद्ध भएको अन्यायको हिसाब अझै मिलाउन बाँकी रहेको उल्लेख गरे।

“देशमाथि गरिएको अन्यायका अगाडि ममाथि गरिएको अन्याय केही पनि होइन,” उनले भने, “त्यसको हिसाब गर्न बाँकी छ। आज यति मात्रै भन्छु— हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।”

लामिछानेले आफूले धेरै कुरा बोल्ने समय आउन बाँकी रहेको पनि बताए। उनले समर्थकहरूसँग धैर्य गर्न आग्रह गर्दै देशले छिट्टै न्याय पाउने विश्वास व्यक्त गरे। “म बोल्ने समय आउँदै छ, धेरै कुरा भन्न बाँकी छ,” उनले भने।

उनले कठिन समयमा साथ, माया र विश्वास दिने सबैप्रति आभार व्यक्त गर्दै भने, “यो निरन्तर सद्भावका लागि म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।”

जिल्ला अदालतमा जमानत बुझाएर रिहा भएपछि लामिछाने चितवनतर्फ प्रस्थान गरेका छन्। रास्वपाका अनुसार उनी शनिबार चितवनमा आयोजना हुने कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २०८२ पुष ५, शुक्रवार १९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको