एमालेले संशोधित विधान एक साताभित्र प्रकाशन गर्ने, सल्लाहकार परिषद् गठन हुँदै



काठमाडौं, पुस ४। नेकपा एमालेले संशोधित विधान एक साताभित्र सम्पादन तथा प्रकाशन गर्ने निर्णय गरेको छ। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनबाट संशोधित तथा राष्ट्रिय महाधिवेशनले थप संशोधन गरेको विधानलाई एकीकृत गरी प्रकाशन गर्ने प्रस्ताव पेश गरेका हुन्।

त्यसैगरी, नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोक्ने अधिकार केन्द्रीय सचिवालयलाई दिने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिएको छ। यसले पार्टीको संगठनात्मक संरचना छिटो व्यवस्थित हुने नेताहरूको भनाइ छ।

बैठकमा महासचिव पोखरेलले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य तथा पदाधिकारीहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने जानकारी पनि गराएका छन्। पार्टी अनुभव र मार्गदर्शनलाई संस्थागत गर्न परिषद् गठन गरिन लागेको बताइएको छ।

यसैबीच, एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७, २८ र २९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय प्रक्रिया अघि बढाएको छ। पहिलो बैठकमै दोस्रो बैठकको मिति तय गर्न प्रस्ताव गरिएको हो।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र गुट अन्त्य भइसकेको दाबी गरेका छन्। महाधिवेशनमा प्यानल वा स्वतन्त्र रूपमा प्रतिस्पर्धा भए पनि मतपरिणाम सार्वजनिक भएसँगै गुट समाप्त भएको उनले बताए।

“अब एमाले एकढिक्का छ। प्यानलको राजनीति सकिएको छ,” अध्यक्ष ओलीले भने। उनी हालै ईश्वर पोखरेललाई पराजित गर्दै लगातार तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित भएका हुन्।

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकबाट संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष ५, शुक्रवार १६:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको