विद्यालयहरुमा क्रिसमसको कार्यक्रम आयोजना नगर्न हिन्दु सम्राटको आग्रह



जनकपुरधाम, पुस ५ । हिन्दू सम्राट नेपालले विद्यालयहरूमा क्रिसमसको कार्यक्रम आयोजना नगर्न शैक्षिक संस्थाहरुलाई आग्रह गरेको छ। हिन्दु सम्राटका महासचिव राकेश यादवले सम्बन्धित निकायलाई पत्र पठाउँदै शैक्षिक संस्थाहरूले विदेशी धार्मिक प्रचार–प्रभावबाट टाढा रही संविधानअनुसार शैक्षिक तटस्थता कायम गर्नुपर्ने माग गरेको छ।

पत्रमा उल्लेख भएअनुसार पछिल्ला केही वर्षयता नेपालमा धर्मान्तरणको गतिविधि बढ्दै गएको र त्यसको एउटा कडीका रूपमा विद्यालयस्तरमै क्रिसमस कार्यक्रम आयोजना हुने गरेको आरोप लगाइएको छ। बालबालिकालाई लक्षित गरी विदेशी धर्मका चाडपर्व, प्रतीक र गतिविधि विद्यालयभित्रै प्रस्तुत गर्नु अनुचित भएको उनिहरुको ठहर छ।

संस्थाले विद्यालयलाई ज्ञान, विज्ञान, नैतिकता र राष्ट्रिय संस्कृतिको केन्द्र हुनुपर्ने उल्लेख गर्दै शैक्षिक संस्थालाई कुनै पनि विदेशी धर्मको प्रचारस्थल बनाउन नहुने जनाएको छ। यस्तो कार्यले बालबालिकाको मानसिकता प्रभावित गर्ने र नेपालको मौलिक धर्म–संस्कृतिमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।

हिन्दु सम्राटले विद्यालय परिसरमा विदेशी धर्मको प्रचार, प्रतीकात्मक कार्यक्रम तथा गतिविधि रोक्न, क्रिसमसजस्ता धार्मिक कार्यक्रम विद्यालयमा आयोजना नगर्न स्पष्ट निर्देशन जारी गर्न, राष्ट्रिय पाठ्यक्रम र संवैधानिक तटस्थतामा आधारित शैक्षिक गतिविधिमात्र सञ्चालन गर्न तथा यस्ता निर्देशन उल्लङ्घन गर्ने विद्यालयमाथि अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

महासचिव यादवले विद्यालय शिक्षा मन्दिर जस्तै भएकाले त्यसलाई चर्च वा अन्य धार्मिक स्थलमा परिवर्तन गर्न नहुने बताएका छन्। उनले धार्मिक तटस्थता उल्लङ्घन हुने कुनै गतिविधि देखिएमा कडा कारबाहीको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: २०८२ पुष ६, शनिवार ०८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको