राष्ट्रपतिले संसद् पुनर्स्थापना गर्नुपर्छ : महेश बर्तौला



काठमाडौं पुस ५ । विघटित प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट मुख्य सचेतक रहेका महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलले संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।

शनिबार विज्ञप्ति जारी गर्दै बर्तौलाले संविधानको परिपालक तथा संरक्षकको जिम्मेवारीमा रहेका राष्ट्रपतिबाट भएको गम्भीर संवैधानिक असावधानी र कमजोरीका कारण प्रतिनिधिसभा विघटन भएको दाबी गरेका छन्। त्यसैले उक्त कमजोरी सच्याउँदै राष्ट्रपतिले नै संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्ने उनको भनाइ छ।

उनले संसद् विघटनलाई केवल एउटा राजनीतिक निर्णय नभई लोकतन्त्रको आत्मामाथिको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्तामाथिको हस्तक्षेपको संज्ञा दिएका छन्। यद्यपि, यसविरुद्ध दर्जनौं रिट सम्मानित अदालतमा दर्ता भई विचाराधीन अवस्थामा रहेको पनि उनले स्मरण गराएका छन्।

बर्तौलाका अनुसार राष्ट्रपतिले आफूबाट भएको संवैधानिक कमजोरी सच्याउन अदालतको आदेश कुर्न आवश्यक नरहेको जिकिर गरेका छन्। संविधानसम्मत निर्णय हुन नसक्दा देशमा संवैधानिक संकट र राजनीतिक अस्थिरता बढ्दै गएको भन्दै त्यसको तत्काल अन्त्यका लागि विगतका नजीरसमेतका आधारमा राष्ट्रपति स्वयंले संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्ने उल्लेख उनले गरेका छन्।

विज्ञप्तिमा बर्तौलाले २०५९ साल जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले अदालतको आदेशबिना नै घोषणामार्फत् पुनर्स्थापना गरेको उदाहरण पनि प्रस्तुत गरेका छन्।

उनले लोकतन्त्र, संविधान र राष्ट्रप्रतिको जवाफदेहिता कायम राख्न अविलम्ब संसद् पुनर्स्थापना गरी संसद् बैठक आह्वान गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: २०८२ पुष ६, शनिवार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको