जनकपुरधाम, पुस ५ । जनकपुरधाम उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापनका लागि कदम बढाएपछि ई रिक्सा व्यवस्थापनको क्षेत्राधिकार मै प्रश्न खडा भएको छ।
जनकपुरधाम उपमहानगरले आफनो कार्यालयमा दर्ता भएका बाहेकका ई रिक्साहरुलाई परिक्रमा क्षेत्र भित्र चल्न नदिने निर्णय गरेपछि ई रिक्सा चालकहरु आन्दोलित भएका छन ।
यातायात कार्यालयमा दर्ता भई संचालनमा रहेका ई रिक्साहरु उपमहानगरपालिकाको निर्णय विरुद्ध आन्दोलित भएका छन । अव्यवस्थित ई रिक्सा संचालनले नगरक्षेत्र भित्रको ट्राफिक अस्तव्यस्त भएकै हो । ई रिक्शा व्यवस्थापन हुनु पर्ने मांग सबै तिरबाट उठेको पनि । जनकपुरधाम उपमहानगरको पछिल्लो निर्णयलाई प्रायः सबै पक्षले समर्थन समेत गरेको छ । तर प्रश्न उठेको छ । ई रिक्सा व्यवस्थापनको अधिकार क्षेत्र कसको ?
जनकपुरधाममा देखिएको पछिल्लो समस्या समाधानका लागि यातायात व्यवस्था कार्यालयको पहलमा आज जनकपुरधाममा सर्वपक्षिय छलफल सम्पन्न भएको छ।
छलफलको क्रममा यातायात व्यवस्था कार्यालयले कुनै पनि सवारी साधनको पहिलो दर्ता यातायात कार्यालयमै हुने दावी गरेका छन । कार्यालयका प्रमुख धनन्जय कुमार सिंहले २०७८ सालमा अदालत बाट आएको परिपत्रको आधारमा आफुहरु दर्ता गर्दै रुट परमटि जारी गरि रहेको बताए ।
तर रुटपरमिटकै विषयमा यसै साता प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिको बैठक बसी निर्णय गरिने बताए । उनले रुट परमिट जारी भइ सकेको रिक्साहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भने विषयमा छलफल गर्न आफुहरु तयार रहेको बताए ।
यता जनकपुरधाम उपमहानगरका कर अधिकृत परमेश झाले भने ई रिक्सा व्यवस्थापनको पूर्ण जिम्मेवारी स्थानीय तहमा रहेको दावी गरेका छन । उनका अनुसार जनकपुरधाममा उपमहानगरमा मात्र १४ सय जति ई रिक्सा दर्तामा रहेको छ ।
नगर क्षेत्रको सडक क्षमता लगायतको विषयलाई हेरेर यातायात व्यवस्था कार्यालयलाई तत्काल दर्ता प्रक्रिया बन्द गर्नु पर्ने उनको कथन थियो ।
कार्यक्रममा जनकपुर यातायात व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले नगरक्षेत्रको ट्राफिक सहजीकरणको लागि नगरपालिकाले गरेको निर्णयमा सबै पक्षलाई सहयोग गर्नु पर्ने बताए । अव्यवस्थित ई रिक्साका कारण नगर कुरुप बन्दै गएको उनको कथन थियो ।
कार्यक्रममा ई रिक्सा मजदुर संगठनका अध्यक्ष विरेन्द्र महतोले बाहिर बाट आएर विना कागज पत्र रिक्सा चलाई रहेकाहरुले अनावश्यक बखेडा झिकेको बताए । उनले नगरपालिकाले चलाएको अभियानमा आफुहरु समर्थन रहने बताएका छन ।
यातायात व्यवस्था कार्यालय जनकपुरधाममा हाल सम्म ४७ सय जति ई रिक्सा र टेम्पु दर्तामा रहेका छन । जुन धनुषा र महोत्तरीको सदरमुकाम सहित विभिन्न क्षेत्रमा संचालनमा रहेको छ ।




