बैंकको निक्षेप पौने ७६ खर्ब पुग्यो, तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई सकस



काठमाडौं , पुस ६ । बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणबाट संकलित निक्षेपको आकार पौने ७६ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार डिसेम्बर १२ मा ७५ खर्ब ७० अर्ब रुपैयाँ रहेको कुल निक्षेप डिसेम्बर १६ सम्ममा ५ अर्ब रुपैयाँले बढेर ७५ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो।

निरन्तर निक्षेप बढ्दै जाँदा तरलता व्यवस्थापनमा नेपाल राष्ट्र बैंकलाई चुनौती थपिएको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.०७ प्रतिशत मात्र कायम रहेको छ। यसका कारण बैंकिङ प्रणालीमा १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य तरलता रहेको देखिन्छ।

कर्जा लगानीको दबाब बढ्दै गएपछि केन्द्रीय बैंकले निक्षेप संकलन(बोलकबोल) प्रणालीमार्फत निरन्तर तरलता प्रशोचन गर्दै आएको छ।

यसैक्रममा नेपाल राष्ट्र बैंकले आइतबार थप २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। राष्ट्र बैंकले ८४ दिन अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको हो। यसमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: २०८२ पुष ७, आइतवार १२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको