कञ्चनपुर कारागार झडप छानबिन गर्न समिति गठन



कञ्चनपुर , पुस ६ । दुई दिनअघि कञ्चनपुर कारागार मा कैदीबन्दी र नाइकेबीच भएको झडपको घटनाको छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ।

गत शुक्रबारको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए। उनीहरूमध्ये दुई जनालाई कारागार फर्काइएको छ भने बाँकी छ जनाको उपचार महाकाली प्रादेशिक अस्पतालमा भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार, छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन्।

प्रजिअ ढकालले समितिलाई सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समयावधि दिइएको जानकारी दिए। उनले भने, “आज पनि कारागारको अनुगमनमा जाँदैछौँ। घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्नेछ।”

कारागारभित्रको विवादमा कैदीबन्दीले नाइकेमाथि एकाधिकारको आरोप लगाएका थिए। उनीहरूले नाइकेहरूले आफ्नै व्यक्तिगत फाइदा लिन, सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको पनि आरोप लगाएका छन्।

स्थानीय प्रशासनले कारागारको सुरक्षा व्यवस्थामा सुधार र विवादको मूल कारण पत्ता लगाउने उद्देश्यका साथ समिति गठन गरेको हो।

प्रकाशित मिति: २०८२ पुष ७, आइतवार १३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको