पिपरा, पुस ६ । रामनारायण मिश्रको ५८ औ श्रद्धाञ्जली सभा उनकै पैतृक गाउँ पिपरामा सम्पन्न भएको छ । पिपरा गाउँपालिकाले आयोजना गरेको श्रद्धाञ्जली सभामा मिश्रको योगदानको वक्ताहरुले प्रसंसा गरेका थिए।
गाउँपालिकाका अध्यक्ष जानकी राम यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका पूर्व सांसद रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा सो श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै वक्ताहरुले मिश्रले समाज र देशकोलागि गरेको योगदानको चर्चा गर्दै प्रमुख अतिथि तिवारीले राजाको अगाडि समेत नझुकेका मिश्रले सम्पूर्ण नेपाल र नेपाली जनताकोलागि गरेको योगदान अतुलनिय रहेको बताए ।
उनले उनकै कार्यकालमा जनकपुर चुरोट कारखाना सञ्चालन भयो तर अहिलेका नेताहरुलाई त्यसलाई सञ्चालन समेत गर्न नसकेको प्रति आक्रोस व्यक्त गरेका थिए ।
पूर्व सांसद तिवारीले उनको समयमा नेपालमै विद्यालय न्यून संख्यामा रहे पनि उनले पिपरामा आफ्नो लगानीमा विद्यालय सञ्चालन गराएर नमुना काम गरेको भन्दै उहाँवाट अहिलेका नेताहरुलाई पाठ सिक्नु पर्ने बताएका थिए ।
वर्तमान राजनीतिक दलका नेताहरुकै कारण जेनजी आन्दोलन भएको प्रसंग कोट्याउँदै सांसद मिश्रले नेपालमा बैदेशिक शक्तिहरु चलखेल बढाएकै कारण मुलुक अस्थिर भएको टिप्पणी गरे ।
उनले भने–‘नेपालकै छिमेकी मुलुक चिन र भारतमा स्थिर राजनीतिक अवस्था रहेका कारण ती दुवै देश विकासमा फड्को मारेका छन् । चिन र भारतवाट नेपालले सिख सिक्नुपर्ने हुन्छ ।’
आसन्न प्रतिनिधिसभाको निर्वाचन हुन नदिने जेनजी अगुवा सुदन गुरुङ्ग प्रति लक्षित गर्दै उनले निर्वाचन हुन नदिने दिएको अभिव्यक्ति आपत्ति जनाए । उनले भने–‘मुलुकमा विदेशि शक्ति हावी भएकै कारण यस्ता यस्ता अभिव्यक्ति आएको छ ।’
सभालाई सम्वोधन गर्दै मधेश प्रदेशका पूर्व प्रमुख हरिशंकर मिश्रले रामनारायण मिश्रको बारेमा चर्चा गर्दै मिश्रको जन्म पिपरामा भएको भए पनि उनले देशकैलागि योगदान गरेको बताए ।
उनले मुलुककै लागि गरेको योगदानका कारण उहाँलाई के भनु गाउँबासी कि देशवासी ?
सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले मिश्रको योगदानको चर्चा गर्दै मुलुकमा भएको जेनजी परिवर्तन नेपाली कांग्रेस र कम्युनिष्टहरुवाट फ्रस्टेड युवाहरुले गरेको आरोप लगाएका थिए ।
उनले कांग्रेस र कम्युनिष्टहरुले मुलुकलाई जुन दिशामा लिएर जान चाहेको थियो त्यसलाई जेनजी युवाहरुले सहीबाटोमा लग्न चाहेको बताए । उनले तत्कालीन समयमा नेपाली कांग्रेस राष्ट्रिय, प्रजातन्त्र र समाजवाद मुल उद्देश्यका साथ अगाडि बढेका थिए तर अहिले सवै विर्सेको उनले आरोप लगाएका थिए ।
उनले भने–‘मुलुकमा सुशासन कायम होस, भ्रष्टाचार नहोस र यो देश विकास र समृद्धिको बाटो जाओस भनेर स्वर्गीय रामनारायण मिश्र र नेपाली कांग्रेसको सपना थियो ।’
कार्यक्रमका तथा गाउँपालिकाका अध्यक्ष जानकी राम यादवले राजा महेन्द्र स्वर्गीय मिश्रमाथि गरेको दमनको चर्चा गर्दै राजाहरुद्वारा पटक–पटक लोकतन्त्र माथि दमन गर्ने प्रयास गरेको आरोप लगाएका थिए ।
उनले लोकतान्त्रिक योद्धाको स्मृति दिवस मनाउने सवैको सौभाग्य हुँदैन् तर आफूले त्यो सौभाग्य प्राप्त गरेको प्रति स्वर्गीय मिश्र प्रति आभार व्यक्त गरे । उनले भने–‘उहाँको बाटोमा चल्नु हामीहरुको लागि सौभाग्यको कुरा हो, उहाँले समाजकालागि गरेको योगदानको एक प्रतिशत पनि गरे जिवन सफल हुनेछ ।’
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्र, गाउँपालिकाका सवै वडाध्यक्षहरु, समाजसेवी डा। पिके ठाकुरा, नेपाली कांग्रेसका नगरअध्यक्ष राधारमण मिश्र, डा। गरिव दास लगायतका वक्ताहरुले स्वर्गीय मिश्रको योगदानको चर्चा गरेका थिए ।




