काठमाडौँ, पुस ६ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारबाट हालै राजीनामा दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल थापा राष्ट्रियसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसमिति बैठकले थापाको नाम राष्ट्रियसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको हो। कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले प्रदेश समितिको निर्णयअनुसार थापाको नाम केन्द्रमा पठाइएको जानकारी दिए।
‘प्रदेश कार्यसमिति बैठकले सुनिल थापालाई राष्ट्रियसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ,’ उपसभापति रायमाझीले बताए।
थापाले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिनुपर्ने भएपछि केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउँदै राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका थिए। संवैधानिक मर्यादा र राजनीतिक निष्पक्षता कायम गर्न उनले सल्लाहकार पद त्यागेको कांग्रेस नेताहरूको भनाइ छ।
सुनिल थापा २०७९ चैत १६ गते राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए। त्यसअघि उनी कांग्रेसभित्र संगठन निर्माण र नीति निर्माणमा सक्रिय रहँदै आएका नेता हुन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा थापा धनकुटा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए।
कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न प्रदेशबाट अनुभवी र सक्रिय नेताहरूलाई उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ। सोही रणनीतिअनुसार कोशी प्रदेशबाट सुनिल थापाको नाम सिफारिस गरिएको कांग्रेस नेताहरूको भनाइ छ।
अब कांग्रेस केन्द्रीय समितिले प्रदेशबाट आएका सिफारिसका आधारमा अन्तिम निर्णय गरी उम्मेदवार टुंगो लगाउनेछ। राष्ट्रियसभा निर्वाचन नजिकिँदै जाँदा पार्टीभित्र उम्मेदवार चयनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन्।




