ललितपुरमा हायु हत्या प्रकरणसँग जोडिएको अर्को शव भेटियो, जंगलमा युवक मृत फेला



काठमाडौं, पुस  ७ । ललितपुरमा केशवराज हायुको हत्या भएको घटनासँग सम्बन्धित रहेको आशंकामा घटनास्थलमा रहेका अर्का एक युवक भक्तपुरको जंगलमा मृत फेला परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा २१ वर्षीय पारुहाङ राईको शव भेटिएको हो ।

भोजपुरको अरुण गाउँपालिका–३ स्थायी घर भई ललितपुरको लुभुमा बस्दै आएका राईको शव ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्ने जंगलमा फेला परेको ललितपुर प्रहरी परिसरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार राईको हत्या गरेर जंगलमा फालेको जस्तो देखिने अवस्था छ र घटनाबारे गहिरो अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार पारुहाङ राई र ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा मृत भेटिएका केशवराज हायुको हत्या आपसमा सम्बन्धित देखिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका हायु पुस २ गते फार्म हाउसको इनारमा बोराभित्र प्याक गरेर फालेको अवस्थामा मृत भेटिएका थिए । उक्त घटनाले देशभर सनसनी मच्चाएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थलमा उपस्थित रहेको आशंका गरिएको छ । एक प्रहरी अधिकारीले भने, “दुवै हत्या एक–आपसमा अन्तरसम्बन्धित देखिएका छन् । एउटै समूहको संलग्नता हुनसक्छ ।”

पारुहाङको शवमा पनि टाउकोमा चोट देखिएको छ । सोमबार बिहान फेला परेको उनको शव पोस्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पतालमा राखिएको छ ।

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल रहेका छन्, जो मृतक हायुका बहिनी ज्वाइँ हुन् । अर्का एक जना पक्राउ परेका आरोपीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

अनुसन्धान अनुसार कम्तीमा तीन जनाको समूहले दुवै जनाको हत्या गरी मोटरसाइकलमार्फत शव बोकेर इनार र जंगलमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रकाशित मिति: २०८२ पुष ८, सोमवार १२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको