माधोपुर पैनीदेखि ब्रह्मबाबाको मन्दिरसम्म पक्की सडक तथा नाला निर्माण कार्य तीव्र



ओम प्रकाश यादव
रौतहट, पुस ७ । रौतहटको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवको पहलमा माधोपुर पैनीदेखि ब्रह्म बाबाको मन्दिरसम्म पक्की सडक निर्माण तथा दुबैतर्फ नाला निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

वर्षौंदेखि सो सडक हिलाम्मे र कच्ची अवस्थामा रहँदै आएको थियो। वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण स्थानीय बासिन्दा, विद्यार्थी, वृद्धवृद्धा तथा सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिनाइ हुँदै आएको थियो।

स्थानीयहरूको यही दीर्घकालीन समस्या समाधान गर्न नगर प्रमुख यादवको नेतृत्वमा उक्त सडकलाई पक्की बनाउने निर्णय कार्यान्वयनमा ल्याइएको हो।

हाल सडकको दुबैतर्फ नाला निर्माणका लागि खाल्डो खन्ने काम तीव्र रूपमा भइरहेको छ। नाला निर्माण सम्पन्न भएपछि सडकलाई व्यवस्थित ढंगले पक्कीकरण गरिने नगरपालिकाले जनाएको छ। यसले वर्षायाममा पानी जम्ने समस्या समाधान हुनुका साथै सडक दीर्घकालीन रूपमा टिकाउ हुने अपेक्षा गरिएको छ। नगर प्रमुख बैजनाथ प्रसाद यादव स्वयं निर्माणस्थलमा उपस्थित भई डोजर प्रयोग गरेर नाला निर्माणका लागि खाल्डो खन्ने कामको अनुगमन तथा व्यवस्थापन गरिरहेका छन्। जनप्रतिनिधि आफैँ फिल्डमा खटिएर विकास निर्माणको काममा संलग्न भएको देख्दा स्थानीयहरू उत्साहित भएका छन्।

स्थानीय बासिन्दाहरूले नगर प्रमुख यादवप्रति धन्यवाद व्यक्त गर्दै भनेका छन् कि वर्षौंदेखि बेवास्तामा परेको सडक अहिले पक्की बन्ने चरणमा पुग्नु नगरपालिकाको सकारात्मक सोच र सक्रिय नेतृत्वको परिणाम हो।

यस सडकको निर्माण सम्पन्न भएपछि धार्मिक स्थल ब्रह्म बाबाको मन्दिरसम्म पुग्न सहज हुनुका साथै स्थानीयको दैनिकी, व्यापार र सामाजिक गतिविधिमा समेत सहजता आउने विश्वास लिइएको छ।

नगरपालिकाले गुणस्तरीय र दीर्घकालीन विकासलाई प्राथमिकतामा राख्दै अन्य वडाहरूमा समेत यस्तै आवश्यकताका आधारमा सडक, नाला र पूर्वाधार निर्माणलाई निरन्तरता दिने नगर प्रमुख यादवले बताएका छन्।

प्रकाशित मिति: २०८२ पुष ८, सोमवार ०८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको