काठमाडौं, पुस ७ । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले नागरिकहरूमा सन्त्रास रहेको बताउँदै यसबाट मुक्ति पाउनुपर्ने र त्यसपछि मात्र निर्वाचन सम्भव हुने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा उनले सरकारले राजनीतिक दलहरूसँग संवाद गरेर नागरिकको सन्त्रास हटाउन भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
छलफलमा नागरिक समाज, जेन–जीका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका अधिकारीहरू, गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उच्च अधिकारीहरू सहभागी छन्।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ का लागि तोकिएको छ। त्यसको तयारी र सुरक्षासम्बन्धी विषयमा सरकारले सर्वपक्षीय छलफल आयोजना गरेको हो।
गृहमन्त्रालयका अनुसार निर्वाचनसँग सम्बन्धित चारवटा ऐन संशोधनको गृहकार्य भइरहेको छ। यसअन्तर्गत विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, अन्तर–जिल्ला मतदानको व्यवस्था, नो भोटको प्रावधान र समानुपातिक प्रणालीतर्फ मतदान गर्ने कानुनी प्रावधान तयार गर्ने कार्य भइरहेको छ।
विदेशमा रहेका नागरिकले समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने व्यवस्था गर्ने, अन्तर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक दुवैमा मतदान गर्न सक्ने कानुनी प्रावधान राख्ने र नो भोट लागू गर्ने मस्यौदा तयार पारिएको छ।
सरकारले यी विषयमा नागरिक समाजका अगुवा, जेन–जी समूह र राजनीतिक दलका प्रतिनिधिहरूसँग सुझाव मागेर समावेशी र पारदर्शी निर्वाचन सुनिश्चित गर्ने तयारी गरेको छ। सर्वपक्षीय छलफल हाल जारी रहेको छ।




