दाङ, पुस ७ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयवासीले सरकारी गाडी सञ्चालनमा रोक लगाएका छन् । अमेरिकाको एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले स्तरोन्नति गर्न लागेको धानखोला–लमही सडकखण्ड दुई लेनमै सीमित गर्न खोजेको भन्दै स्थानीयले विरोधस्वरूप सरकारी सवारी साधन चल्न नदिने निर्णय गरेका हुन् ।
धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीका अनुसार माग सम्बोधन नभएसम्म पुस ७ गतेदेखि यो महिनाभर प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन नदिइनेछ । उनले एमसीसी परियोजनाअन्तर्गत हुने निर्माण कार्यले दीर्घकालीन आवश्यकता नसमेट्ने भएकाले स्थानीय बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
शाहीको नेतृत्वमा स्थानीय युवाहरू लुम्बिनी प्रदेश राजधानी गेट तथा राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक केन्द्रको मुख्य प्रवेशद्वारमा भेला भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले सडक विस्तार चार लेनमा गर्नुपर्ने माग राख्दै नाराबाजीसमेत गरेका छन् ।
लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा पर्ने धानखोला–लमही सडकखण्ड हाल दुई लेनको रहेको छ । एमसीसी परियोजनाअन्तर्गत एमसीए नेपालले साविक ७ मिटर चौडाइको सडकलाई दायाँ–बायाँ २।५र२।५ मिटर थपेर जम्मा १२ मिटर चौडा बनाए पनि दुई लेनकै सडक निर्माण गर्न लागेको स्थानीयको भनाइ छ । यसले भविष्यमा बढ्दो सवारी चाप धान्न नसक्ने र फेरि विस्तार गर्नुपर्ने अवस्था आउने उनीहरूको चिन्ता छ ।
यसअघि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट स्थानीय संघर्ष समितिका प्रतिनिधिसहित काठमाडौं पुगेका थिए । उनीहरूले भौतिक पूर्वाधार, यातायात तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै चार लेन सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
तर मन्त्री घिसिङले एमसीसी परियोजनाअनुसार नै काम हुने भएकाले स्थानीयको मागअनुसार परिवर्तन गर्न नसकिने जवाफ दिएको स्थानीयले बताएका छन् । मागप्रति सरकार गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउने चेतावनी संघर्ष समितिले दिएको छ ।




