फागुन २१ को चुनाव तलमाथि भए देश अनिश्चयतिर जान्छ : राष्ट्रपति पौडेल



काठमाडौं, पुस ७ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक अनिश्चयतिर धकेलिने चेतावनी दिएका छन्। उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको साझा दायित्व भएको स्पष्ट पारे।

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति कार्यालय महाराजगञ्जमा भएको भेटमा राष्ट्रपति पौडेलले अब मुलुकमा थप राजनीतिक खेलवाड सह्य नहुने बताए।
उनले भने, “फागुन २१ गतेको चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ। त्यसैले यो निर्वाचन सफल पार्नु सबै नेपालीको दायित्व हो। सरकार आफूलाई प्राप्त निश्चित समय पूरा गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरी बिदा हुन्छ।”

भेटका क्रममा मानव अधिकार तथा शान्ति समाजले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समयसम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मर्म र नागरिक सर्वोच्चताको विपरीत हुने धारणा राख्दै घोषित मितिमै निर्वाचन सम्पन्न भई लोकतन्त्र लयमा फर्किने विश्वास व्यक्त गरेको छ।

समाजका प्रतिनिधिहरूले २०८२ भदौ २३ गते जेनजीद्वारा आह्वान गरिएको प्रदर्शनका क्रममा भएको दमन र हत्यापछि उत्पन्न राजनीतिक रिक्ततामा राष्ट्रपति पौडेलले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। जटिल अवस्थालाई सामान्यीकरण गर्न राष्ट्रपतिको योगदान उल्लेखनीय रहेको उनीहरूको भनाइ थियो।

मानव अधिकार तथा शान्ति समाजकी सभापति रेनुका पौडेलका अनुसार भदौ २३ गतेको दमन र हत्यामा संलग्न जिम्मेवारमाथि हालसम्म कारबाही नभएको तथा भदौ २४ गतेको ध्वंसका सूत्रधार पहिचान हुन नसकेको अवस्थाप्रति प्रतिनिधिमण्डलले गम्भीर चिन्ता व्यक्त गरेको छ।

संक्रमणकाल लम्ब्याउने उद्देश्यले विभिन्न कोणबाट चलखेल भइरहेको भन्दै यसले लोकतन्त्र र नागरिक अपेक्षाविपरीत अवस्था सिर्जना गर्ने समाजको धारणा पनि विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।

समाजले घोषित मितिमै स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुको विकल्प नरहेको उल्लेख गर्दै त्यसको प्रमुख दायित्व सरकारकै हुने स्पष्ट पारेको छ।

प्रकाशित मिति: २०८२ पुष ८, सोमवार १८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको