काठमाडौँ, पुस ७ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० लाख १६ हजार ७ सय ५४ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा जानकारी दिएका हुन्।
उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हाल ११४ दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन्। गत २०७९ सालको निर्वाचनमा ८७ दलले मात्रै भाग लिएका थिए। दलको संख्या बढेसँगै निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान आयोगले गरेको छ।
भट्टराईले निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री पहिचान भइसकेको र तीमध्ये ३७ वटा जिल्लास्तरबाट खरिद गरिने, बाँकी १४ वटा मात्र आयोगले उपलब्ध गराउने तयारीमा रहेको बताए। आवश्यक सामग्रीमा पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्याम्प प्याड, मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची आदि पर्छन्। उनले भने, “मतपेटिका र मसी पर्याप्त मौज्दातमा रहेका कारण ती सामग्रीहरूमा मात्रै खरिद प्रक्रिया अगाडि बढाइँदैछ।”
मतदाता नामावलीको अन्तिम सूची पुस १५ मा तयार हुनेछ। भट्टराईका अनुसार, यसअघि ८७ दल दर्ता भएका थिए भने अहिले ११४ दल दर्ता भइसकेको र दलको संख्या बढेसँगै निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ।
निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति दिइसकेको छ। साथै, मुलुकभर निर्वाचनको वातावरण सुनिश्चित गर्न आयोगले सुरक्षा निकाय र सरकारसँग निरन्तर परामर्श र छलफल गरिरहेको छ।
मतदाता संख्या ५.६५ प्रतिशतले वृद्धि भएसँगै निर्वाचन तयारीमा आयोगले स्रोतहरूको बचत र मितव्ययी हिसाबले कार्य अघि बढाइरहेको बताइएको छ।




