राजविराज, पुस ७ । प्रतिनिधी सभा निर्वाचन नजिकैदै हिन्दु राष्ट्रको एजेण्डा सहित नेपाल जनता पार्टी चुनावी गतिविधीलाई तिब्रता दिदै संगठन विस्तारमा जुटेका छन ।
“हिन्दु राष्ट्र कायम गरौ” प्रमुख नाराका साथ सूरु गरेको अभियान अन्तर्गत नेजपाको सप्तरी सदरमुकाम राजविराजमा वसेको बृहत भेलाले दिपेन्द्र प्रसाद यादवको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
नव गठित कार्य समितीको उपाध्यक्षमा भुटनी देवी राम, कृष्ण कुमार साह, महामन्त्री संजय कुमार कोडगिया र कोषाध्यक्षमा विद्यानन्द नन्दी सर्वसम्मतीले चयन भएका छन ।
यस्तै मन्त्रीहरुमा हरिदेव राम, भगवान लाल सोनार, प्रमोद देव तथा सदस्यहरुमा विनोद साह, गीता दास, रामचन्द्र यादव, विजया देवी लक्ष्मी झा, जगदिश कविरथ, लक्ष्मी कुमारी राम, चन्द्रिका कुमारी यादव, दिवाकर राय, भुली देवी खङ्ग, इन्दु गिरी, संगीता सिंह र शुभाषचन्द साह चयन भएको पार्टीका जिल्ला प्रवक्ता ममता कुमारी यादवले जानकारी दिइन ।
कार्यक्रममा प्रमुख अतिथी बिघटित प्रतिनिधिसभा सदस्य एवं समाजसेवी रञ्जुकुमारी ठाकुर, बजरंग दल सप्तरीका अध्यक्ष आकाश यादव र हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष जयराम यादव लगायतले शुभकामना दिएका थिए ।
२०७५ सालमा निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीको राष्ट्रिय अध्यक्ष त्रिभुवननाथ पाठक छन । संयोगले छिमेकी राष्ट्र भारतको भारतीय जनता पार्टी (भाजपा) को झण्डा र चुनाव चिन्हसंग उक्त पार्टीको ठ्याक्कै मेल खाएको छ । उक्त पार्टीको पनि चुनाव चिन्ह कमल रहेको पार्टी प्रवक्ता यादवले बताईन ।
भारतीय जनता पार्टी संगै मेल खानेगरी झण्डा र चुनाव चिन्ह राखेपछि धेरै जना झुक्किने र अलमलमा पर्ने गरेको स्थानीय बताउँछन । नवगठित समितीका अध्यक्ष यादवले हिन्दु राष्ट्र निर्माणका लागी आफुहरुको पार्टी गठन भएको भन्दै भविष्यमा देशैभर यो पार्टीको संगठन फैलिने दाबी गरे । उनले छिमेकी मुलुक भारतको भारतीय जनता पार्टी संग नाम, झण्डा र चुनाव चिन्ह मिल्नु संयोग मात्र भएको बताएका छन ।




