विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, व्यवस्थापकसहित २० नेपाली पक्राउ



विराटनगर, पुस  ७ । विराटनगरका दुई क्यासिनोमा प्रहरीले एकैसाथ छापा मार्दै व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार मध्यराति गरिएको छापामा बिग होटलभित्र सञ्चालनमा रहेको ‘च्याम्पियन जोन क्यासिनो’ र रत्ना होटलभित्र सञ्चालनमा रहेको ‘गोल्डेन क्यासिनो’बाट नेपाली नागरिक नियन्त्रणमा लिइएका हुन् ।

क्यासिनोमा नेपाली नागरिक प्रवेश गर्न कानुनी रूपमा निषेध भए पनि विराटनगरका यी दुई क्यासिनोमा लामो समयदेखि नेपालीको आवतजावत सहज हुँदै आएको प्रहरीको भनाइ छ ।

यही कारण पटक–पटक झगडा र विवादका घटना सार्वजनिक हुँदै आएका थिए । पछिल्ला घटनालाई ध्यानमा राख्दै प्रहरीले कडा निगरानी बढाएर छापा मारेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख प्रहरी उपरीक्षक कबित कट्वालका अनुसार रत्ना होटलस्थित गोल्डेन क्यासिनोबाट १४ जना र बिग होटलस्थित च्याम्पियन जोन क्यासिनोबाट ६ जना नेपाली पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पनि रहेका छन् । प्रहरीले पक्राउ परेकाहरूमाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको छ ।

यसअघि पनि क्यासिनोसँग सम्बन्धित हिंसात्मक घटना भएका थिए । गत चैत ३ गते विराटनगरको रत्ना होटलस्थित क्यासिनो परिसरमा किरण लामा र रोनाल कँडेलको समूह तथा अभिषेक गिरीसहितको समूहबीच कुटाकुट भएको थियो, जसमा तीन जना घाइते भएका थिए ।

यस्तै, २०८० पुस २८ गते बिग होटलको क्यासिनोमा जुवा खेल्ने क्रममा विवाद चर्किँदा बाहिर दुई समूहबीच खुकुरी हानाहान भएको थियो । उक्त घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका थिए ।
प्रहरीले अवैध रूपमा नेपाली नागरिक प्रवेश गराउने क्यासिनोमाथि थप निगरानी र कारबाही जारी रहने जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष ८, सोमवार १२:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको