काठमाडौँ, पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र उज्यालो नेपाल पार्टी (उनेपा)बीच एकता वा चुनावी सहकार्यबारे निर्णायक वार्ता(ब्रेक थ्रु’) हुने अपेक्षा दुवै पक्षका नेताहरूले व्यक्त गरेका छन्। सहकारी ठगी मुद्दाबाट रिहा भएपछि रास्वपा सभापति रवि लामिछाने सक्रिय बनेसँगै संवादले गति लिएको हो।
रवि रिहा हुनु अघि नै रास्वपाले समान विचारधाराका नयाँ दलसँग एकता संवाद थालेको थियो। विवेकशील साझा पार्टीसँग एकता भइसके पनि कुलमान घिसिङ संरक्षक रहेको उनेपासँग अन्तिम चरणमा सहमति जुट्न सकेको थिएन। रिहाइपछि रविले “आवश्यक परे नयाँ शक्तिहरू एकढिक्का भएर अघि बढ्ने” सन्देश दिएका छन्।
उनेपातर्फबाट निर्णायक वार्ताको जिम्मा कुलमान घिसिङलाई दिइएको छ। उनेपाका नेता डा। तारा जोशीका अनुसार पार्टी एकता सम्भव नभए चुनावी सहकार्यतर्फ पनि सहमति खोजिनेछ। रास्वपाले पनि उनेपा, बालेन शाह समूहलगायत नयाँ शक्तिसँग संवाद जारी रहेको जनाएको छ।
यसअघि एकतामा अवरोध बनेको मुख्य विषय नेतृत्व र संगठनमा हिस्सेदारीको सर्त रहेको बताइन्छ। रास्वपाले ‘पार्टी कब्जा’जस्तो सर्त अस्वीकार गरेको थियो भने उनेपाले रास्वपाले सर्तमाथि सर्त राखेको आरोप लगाएको छ।
फागुन २१ मा निर्वाचन भएमा औपचारिक पार्टी एकताको समयसीमा सकिएको छ। तर दुवै पक्षबीच चुनावी तालमेलको सम्भावना भने खुलै रहेको नेताहरूले बताएका छन्।




