काठमाडौँ, पुस ७ । सोमबार नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१ अंकमा झरेको छ। दिनभर बजार रातो रह्यो भने कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ।
आज कुल ५४ कम्पनीको मूल्य बढ्दा २०० कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनी स्थिर रह्यो। समूहगत सूचकको हेराइ गर्दा व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। व्यापार ०.५७ प्रतिशतले घट्दा जीवन बीमा १.०१ र होटल तथा पर्यटन १.२६ प्रतिशतले झरे। अन्य समूहहरूमा बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ र अन्य ०.६९ प्रतिशतले घटेका छन्।
आज मूल्य बढेका कम्पनीमध्ये एसवाई प्यानल १० प्रतिशतले मूल्य बढाएको छ। सीवाईसी लघुवित्त ५.९०, पियोर इनर्जी ५.८७ तथा हिमालयन पावर पार्टनर ३.५२ प्रतिशतले बढेका छन्।
विपरीत, मूल्य सबैभन्दा धेरै घट्नेमा मानुषी लघुवित्त ६.८४ प्रतिशतले मूल्य घटाएको छ। त्यस्तै लक्ष्मी लघुवित्त ५.५८, स्वस्तिक लघुवित्त ५.५१ तथा तेह्रथुम पावर ५.२० प्रतिशतले मूल्य घटेका छन्।
आज धेरै कारोबार भएका कम्पनीमध्ये लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर र सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहे।




