काठमाडौँ, पुस ७ । नागरिक अगुवाहरूले आगामी फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनको सफल वातावरण बनाउन सरकारलाई दलसँग संवाद गर्न सुझाव दिएका छन्। सिंहदरबारमा सोमबार आयोजित सर्वपक्षीय छलफलमा उनीहरूले चुनावको समयमा सबै पक्षले सकारात्मक ढंगले प्रस्तुत हुनुपर्ने र नेता विशेषलाई स्थानहद तोक्ने चलन हटाउनुपर्ने बताए।
पत्रकार कनकमणि दीक्षितले २३ र २४ गते संसद भवन अगाडिको हिंसा र आगजनीको छानबिन हुनुपर्ने उल्लेख गर्दै, निर्वाचन नभए देशमा बाह्य हस्तक्षेप बढ्ने चेतावनी दिए। उनका अनुसार संविधानमा देखिएको छेडखानीलाई फागुन २१ को निर्वाचनले ट्र्याकमा ल्याउनेछ।
कानुनविद् राधेश्याम अधिकारीले खेलको नियम नबिगार्नुपर्ने र दलसँग निरन्तर संवाद गरेर निर्वाचन सुनिश्चित गर्नुपर्ने बताए। उनले समानुपातिक मत वितरणमा भएका भिन्नतालाई लागू गर्न सुझाव दिए र नो भोटको व्यवस्था संसदको जिम्मामा राख्नुपर्ने सुझाए।
पूर्वमन्त्री एवं प्रशासक विद्याधर मल्लिकले जेन–जी विद्रोहपछि बनेको सरकारले सबै पक्षसँग संवाद गर्नुपर्ने र निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित हुनुपर्छ भने। उनले जेन–जीसँग भएको सम्झौता केवल यो चुनावको लागि नभई भविष्यका निर्वाचनमा पनि कार्यान्वयन गर्न सकिने बताए।
अधिकारकर्मी सुनिलबाबु पन्तले पुराना दलमा दोधारे नीति रहेको भन्दै निर्वाचन बाधा नपरोस् भनेर दलले भाग नलिए पनि प्रक्रिया अगाडि बढाउनुपर्ने बताए। सरु जोशीले भोटिङ जिल्लाबाहिरबाट पनि गर्न पाउनु पर्ने आवश्यकतामा जोड दिईन्।
जेन–जी अगुवा सागर ढकाल र भावना राउतले सकिँदैन भन्ने भाष्य अन्त्य गरी निर्वाचनका कार्यक्रम अघि बढाउन आग्रह गरे। उनले निर्वाचन आयोगले राजनीतिक सहमति नभएको दाबी गरे पनि, अन्तर जिल्ला मतदानको लागि सहमति आवश्यक नभएको जनताले मूल्यांकन गर्ने बताए।




