काठमाडौँ, पुस ७ । ललितपुरमा सापटी लिएको १७ लाख नफिर्ता गरेपछि दुई जनाको हत्या भएको घटना प्रहरीले सार्वजनिक गरेको छ। महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको शव विभिन्न ठाउँमा फालेको अवस्थामा फेला परेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीलाई पक्राउ गरेको छ। अनुसन्धान अनुसार देवराज हायुको बहिनीको ज्वाईं हुन् र उनीहरूले पैसा फिर्ता गर्न दबाब दिँदा हत्या योजना बनाएका थिए।
केशवराज हायुलाई मंसिर २४ गते ‘रक्सी खान जाउँ’ भन्दै जंगलमा लगेपछि गोल्डेन ओक मदिरा खुवाएर ह्यामरले टाउकोमा प्रहार गरी हत्या गरिएको थियो। शव दुई दिन जंगलमै राखेपछि बोरामा प्याक गरी फार्म हाउसको इनारमा फालेको थियो।
पारुहाङ राईलाई पनि त्यस्तै तरिकाले मंसिर २६ गते हत्या गरी ललितपुर–भक्तपुर सीमा क्षेत्रमा फालेको छ। हत्यामा देवराज र जयरामले मिलेर योजना बनाएर काम गरेका थिए।
पक्राउ परेका दुवै आरोपीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। बरामद सामग्रीमा ह्यामर र शव बाँध्न प्रयोग भएको टेप समेत पाइएको छ।




