कांग्रेस क्रियाशील सदस्यता नवीकरण भोलि मध्याह्न ‘लक’, नयाँ वितरण पर्सी बन्द



काठमाडौं , पुस  ८ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीले पुस ९ गते मध्याह्न १२ बजेसम्म क्रियाशील सदस्यता नवीकरण गर्ने र त्यसपछि प्रणाली ‘लक’ गर्ने निर्णय गरेको हो ।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले नवीकरण प्रक्रिया भोलि मध्याह्न बन्द गर्ने निर्णय गरेको हो । साथै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि पुस १० गते प्रणाली लक गरिनेछ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ का अनुसार नवीकरणका सन्दर्भमा पुस ९ गते मध्याह्न १२ बजे प्रणाली बन्द गरी अपराह्न ४ बजे बैठक बसेर प्रमाणित सूची पार्टी केन्द्रीय कार्यालयमा बुझाइनेछ । नयाँ क्रियाशील सदस्यताको हकमा भने पुस १० गते प्रणाली बन्द गरी त्यसपछि बैठकमार्फत अन्तिम विवरण पार्टीलाई बुझाइने उनले जानकारी दिए ।

विदेशस्थित जनसम्पर्क समितिहरूमा जनसम्पर्क सदस्यता नवीकरण वा नयाँ क्रियाशील सदस्यता प्राप्त नगरेका सदस्यहरूले पार्टी केन्द्रीय कार्यालयमा सम्पर्क गरी वेबसाइटमार्फत सदस्यता लिन सक्ने व्यवस्था गरिएको पनि कांग्रेसले जनाएको छ ।

यसपटक कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण प्रक्रियालाई केही खुकुलो बनाएको छ । मातहत समितिबाट सदस्यता नपाएमा सिधै केन्द्रीय कार्यालयबाट समेत क्रियाशील सदस्यता दिन सकिने व्यवस्था गरिएको छ ।

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने कार्यतालिका छ । त्यसअघि पुस १६ गते देशभर वडा अधिवेशन हुने कार्यक्रम तय गरिएको छ ।

यद्यपि, क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण तथा उजुरीमाथिको छानबिन समयमै नसकिएकाले मातहत तहका अधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा पार्टीभित्र छलफल जारी रहे पनि हालसम्म ठोस निष्कर्ष निस्किएको छैन ।

महामन्त्री गगन थापाले निर्धारित समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुन सक्ने संकेत दिइरहेका छन् । तर सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै जोड दिँदै आएका छन् ।

प्रकाशित मिति: २०८२ पुष ९, मंगलवार ११:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको