काठमाडौं, पुस ८ । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन्।
११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका विभिन्न प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै पोखरेलले सामाजिक सञ्जालमार्फत अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका हुन्। उनले महाधिवेशनबाट निर्वाचित नेतृत्व र संस्थागत निर्णयको पालना सबैको कर्तव्य भएको उल्लेख गरे पनि त्यसको नाममा नेता–कार्यकर्ताबाट आत्मसमर्पण अपेक्षा गर्नु गलत हुने धारणा राखेका छन्।
‘सबैले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्,’ पोखरेलले उल्लेख गरेका छन्।
महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले विगतमा पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण एमालेले भोग्नुपरेका नकारात्मक अनुभवको स्मरण गराउँदै त्यस्तै अवस्था दोहोरिन नदिन नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन्।
उनले संस्थागत रूपमा भएका निर्णयको विरोधमा कुनै गतिविधि नहुने दाबी गरे पनि व्यवहारमा काखा–पाखा देखिए असन्तुष्टि स्वाभाविक रूपमा प्रकट हुने बताए। यसपटक नेतृत्व चयनमा सर्वसम्मति बन्न नसक्नुका पछाडि नेतृत्वबाट पर्याप्त पहल नहुनु पनि एउटा कारण रहेको उनको संकेत छ। यसले कतिपय प्रतिनिधिहरूमा नेतृत्वले योजनाबद्ध रूपमा केहीलाई विदा गर्न खोजेको हो कि भन्ने आशंका पैदा गरेको पोखरेलको भनाइ छ।
महाधिवेशनका क्रममा समूहगत प्रतिस्पर्धा भए पनि पार्टी जीवनको लोकतान्त्रिकरणलगायत नीतिगत विषयहरू खुलेर उठाइएको उनले बताएका छन्। ती विषयहरू ‘अवधारणा पत्र’का रूपमा सार्वजनिक भइसकेको र बन्द सत्रमा औपचारिक रूपमा प्रस्तुत गरिएकाले लुकाउनुपर्ने केही नरहेको उनको भनाइ छ।
पोखरेलले पार्टी एकतालाई बलियो बनाउन सबै तहबाट जिम्मेवार व्यवहार आवश्यक रहेको बताए। विधि र प्रक्रियाबाट भएका निर्णयको निशर्त पालना, पार्टी विभाजनको सशक्त विरोध तथा सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको संरक्षण अहिलेको मुख्य आवश्यकता भएको उनको निष्कर्ष छ।
११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएसँगै पदाधिकारी र केन्द्रीय समितिमा ओली पक्षको वर्चस्व कायम छ। यस्तो अवस्थामा पोखरेलको चेतावनीलाई पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन र सम्भावित टकराव रोक्न लक्षित आन्तरिक सन्देशका रूपमा हेरिएको छ।




