श्याम कुमार ठाकुर
सिरहा, पुस ८ । स्वस्तिक पाठशाला, मिचैयाँ–६, सिरहामा अध्ययनरत विद्यार्थीहरूले राष्ट्रिय सेवा दल (एनसीसी) अन्तर्गत मोरङको याङ्गिलामा सञ्चालन हुने २१ दिने बन्द सत्रमा सहभागी हुनुअघि आफ्नो तयारी र क्षमताको प्रभावशाली झलक प्रस्तुत गरेका छन्। यस अवसरमा आयोजित ‘राष्ट्रिय सेवा दल कार्यक्रम अनुशासन, आत्मविश्वास र राष्ट्रसेवाको भावना बोकेको विशेष प्रस्तुति बनेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले ड्रिल, शारीरिक तालमेल, अनुशासन अभ्यास तथा नेतृत्व क्षमतासँग सम्बन्धित विविध प्रस्तुति प्रदर्शन गर्दै आफूहरू बन्द सत्रका लागि मानसिक र शारीरिक रूपमा तयार रहेको सन्देश दिएका थिए। उनीहरूको प्रस्तुतीले दर्शकलाई मात्र होइन, अभिभावक र अतिथिहरूलाई समेत प्रभावित बनाएको देखिन्थ्यो।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक लक्ष्मण गिरीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा मिचैयाँ नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवको उपस्थिति रहेको थियो भने नेपाली सेना चोहर्वा, सिरहाका प्रमुख सेनानी समिर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश प्रसाद पुरी विशेष अतिथिका रूपमा सहभागी रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले अनुशासन र राष्ट्रसेवामा आधारित यस्ता गतिविधिहरूले विद्यार्थीलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताउनुभयो। प्रमुख सेनानी समिर श्रेष्ठले राष्ट्रिय सेवा दलको तालिमले युवामा नेतृत्व, आत्मसंयम र राष्ट्रप्रेमको विकास गर्ने उल्लेख गर्नुभयो। डीएसपी पुरीले जीवनमा नियम र सकारात्मक सोचको महत्वबारे विद्यार्थीहरूलाई सचेत गराउनुभयो।
प्रधानाध्यापक लक्ष्मण गिरीले विद्यालयको उद्देश्य परीक्षा पास गराउनु मात्र नभई राष्ट्र, समाज र अनुशासनप्रति उत्तरदायी नागरिक तयार गर्नु रहेको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। आफ्ना बालबालिकालाई आत्मविश्वासका साथ प्रस्तुत हुँदै गरेको देख्दा अभिभावकहरू गर्वित देखिन्थे।
यस कार्यक्रमले विद्यार्थीहरूलाई आगामी बन्द सत्रका लागि उत्साहित र आत्मविश्वासी बनाउनुका साथै विद्यालयमा व्यवहारिक र राष्ट्रसेवामुखी शिक्षाको महत्वलाई अझ स्पष्ट बनाएको छ।




