राष्ट्रिय सभा निर्वाचन : मधेशमा जितका लागि गठबन्धन अपरिहार्य



काठमाडौं ,पुस ८ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेशगत मतभार सार्वजनिक गरेको छ । आयोगका अनुसार मधेश प्रदेशमा कुल मतभार १० हजार ८३९ रहेको छ, जसले यहाँको निर्वाचनलाई अत्यन्त प्रतिस्पर्धात्मक बनाएको छ ।

मधेश प्रदेशमा १०७ प्रदेशसभा सदस्य र १३६ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २७२ जना मतदाता छन् । प्रदेश सभातर्फ मतभार ५६७१ र स्थानीय तहबाट ५१६८ मतभार निर्धारण गरिएको छ ।

प्रदेशसभाको दलगत अवस्था हेर्दा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १–१ प्रदेश सांसद छन् ।
मतभारका आधारमा कांग्रेस ३१०४ मतभारसहित अग्रस्थानमा छ भने एमाले २४०८ र जसपा नेपाल १९२३ मतभारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी चौथो स्थानमा रहे पनि ठूला दलको तुलनामा निकै पछाडि छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार मधेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुनै पनि ठूलो दलले एक्लै जित सुनिश्चित गर्न कठिन देखिन्छ । त्यसैले जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायत साना तथा मध्यम दलहरूको समर्थन निर्णायक बन्नेछ । गठबन्धन बिना जित सम्भव नरहेको निष्कर्ष निकालिएको छ ।

निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन, पुस २३ गते उम्मेदवार मनोनयन, पुस २७ गते नाम फिर्ता र पुस २८ गते निर्वाचन चिन्ह वितरण गरिनेछ । मतदान भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
मधेश प्रदेशमा यसपटकको राष्ट्रिय सभा निर्वाचन गठबन्धनको समीकरणले निर्णायक भूमिका खेल्ने निश्चित देखिएको छ ।

प्रकाशित मिति: २०८२ पुष ९, मंगलवार ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको