चुनाव सुनिश्चित नभए संसद् पुनर्स्थापना हुनुपर्छ : कांग्रेस प्रवक्ता महत



काठमाडौं ,पुस ८ । नेपाली कांग्रेस का प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारले आगामी २१ फागुनमा निर्वाचन सम्पन्न गर्न नसके विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने, “निर्वाचनबाट संसद् बनाउनु पर्‍यो। सरकारले त्यसो गर्न नसके संसद् पुनर्स्थापना गर्नुपर्छ। अहिलेको स्थिति यही हो।”

प्रवक्ता महतले कांग्रेस निर्वाचनमा सक्रिय सहभागी हुन तयार रहेको स्पष्ट पार्दै भने, “जनताले जे म्यान्डेट दिन्छन्, जनताको जे इच्छा हुन्छ, त्यो संसद्मा प्रकट हुन्छ। संसद्ले आवश्यक सुधार, संवैधानिक सुधार र अन्य महत्वपूर्ण कार्यहरू अघि बढाउँछ।”

उनले निर्वाचन ढिला हुँदा संवैधानिक शून्यता र राजनीतिक अस्थिरता बढ्ने चेतावनी दिए। “संविधान अनुसार शून्यता लामो समयसम्म राख्नु खतरनाक हुन्छ। बंगलादेशमा जस्तो परिस्थिति नेपालमा आउन दिनुहुँदैन,” महतले उदाहरण दिँदै बताए।

उनका अनुसार, यदि २१ फागुनमा निर्वाचन सम्भव भएन भने संसद् पुनर्स्थापना मार्ग अवलम्बन गर्नुपर्छ। “संसद्ले सरकार गठन गर्छ र आवश्यक निर्णय चाँडै अघि बढाउँछ। निर्वाचन ०८४ सम्म बस्न आवश्यक छैनस २०८३ मा निर्वाचन हुन सक्छ,” उनले थपे।

विश्लेषकहरूका अनुसार, प्रवक्ता महतको यो अभिव्यक्ति राजनीतिक दबाब र निर्वाचन सुनिश्चितताको आवश्यकता देखाउने संकेत हो। कांग्रेसले संविधान र लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै निर्वाचनको तयारी र वैकल्पिक व्यवस्था दुवैको विकल्प खुला राखेको देखिन्छ।

यसरी, कांग्रेसले निर्वाचन नभए संविधानअनुसार संसद् पुनर्स्थापना गर्नुपर्ने माग गर्दै राजनीतिक मार्गनिर्देशनको स्पष्ट संकेत दिएको छ।

प्रकाशित मिति: २०८२ पुष ९, मंगलवार १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको