संविधान संशोधन विना चुनावको कुनै तुक छैन : उपेन्द्र यादव



सिरहा , पुस ८ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन विना हुने चुनावमाको कुनै तुक नरहेको बताएका छन ।

सिरहाको गोलबजारमा आयोजित डोटिम परिसंघको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संविधान जनताको भावना र आवश्यकताअनुसार नभएको दाबी गरे। उनले अहिलेको संविधान आफ्नै देशका जनतामाथि गोली चलाएर जबर्जस्ती जारी गरिएको भन्दै यसले सबै समुदायलाई समेट्न नसकेको आरोप लगाए।

‘संविधान जारी गर्ने समयमा लाखौँ मधेशी जनता सडकमा आन्दोलनरत थिए, ब्ल्याकआउट गरिरहेका थिए, तर उनीहरूमाथि गोली चलाएर संविधान जारी गरियो,’ यादवले भने, ‘यस्तो संविधान जनताको हुँदैन र दीर्घकालीन रूपमा स्वीकार्य पनि हुँदैन।’

अध्यक्ष यादवले संविधानमा सामान्य संशोधन वा परिमार्जन मात्र पर्याप्त नहुने भन्दै आवश्यकता अनुसार पुनर्लेखन नै गर्नुपर्ने जिकिर गरे। संविधानको मूल समस्या समाधान नगरी अहिलेकै अवस्थामा चुनावमा जानु मुलुकका लागि समाधान नभएको उनको भनाइ थियो।

‘हामी चुनावमा जान सक्छौँ,’ उनले भने, ‘तर संविधानको उपचार नगरी गए देशका समस्या ज्यूँकात्यूँ रहन्छन्, कांग्रेस र कम्युनिस्टले सत्ता र स्रोतको लुट मच्चाइरहन्छन्।’

उनले संविधानमा सबै समुदायलाई जनसंख्याका आधारमा समान प्रतिनिधित्व र अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए। ‘राजनीतिक, प्रशासनिक क्षेत्र होस् वा सेवा–सुविधा प्राप्तिको सवाल, जहाँ–जहाँ असमानता छ, त्यसको अन्त्य हुनुपर्छ,’ यादवले भने, ‘जसको जति जनसंख्या छ, हरेक क्षेत्रमा त्यति नै हिस्सा सुनिश्चित गरिनुपर्छ।

प्रकाशित मिति: २०८२ पुष ९, मंगलवार ०७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको