सप्तरी, पुस ८ । यौन दुरुपयोग र जबरजस्ती करणी सम्बन्धी मुद्दाका फरार तीन जना प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बालयौन दरुपयोग मुद्दाका फरार आरोपी खडक नगरपालिका वडा नम्बर ८ भदिया घर भएका २८ वर्षीय राकेश चौधरी र सोही ठाउँका ३३ वर्षीय सूर्या चौधरी छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/०८२ सालको मुद्दा नम्बर ६१ मा दर्ता भएको बालयौन दुरुपयोग मुद्दामा वारदात पश्चात् उनीहरु फरार थिए ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गाउँबाटै दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
यसैगरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका सोही नगरपालिका वडा नम्बर ४ का मो. जमिललाई पनि पक्राउ गरेको उनले बताए ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






