ओम प्रकाश यादव
रौतहट, जेठ २५ । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर गरुडा सडकखण्डमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ।
आज बिहान करिब ६ बजेतिर स्थानीय शिवमंगल दासले सडक छेउमा एक व्यक्ति लडिरहेको देखेपछि तत्काल इलाका प्रहरी कार्यालय समनपुरलाई जानकारी दिएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।
प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका व्यक्तिको हालसम्म पहिचान खुल्न सकेको छैन। मृतकको उमेर करिब ४० देखि ४५ वर्षको बीचमा रहेको अनुमान गरिएको छ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले शव सडक छेउमा लडिरहेको अवस्थामा फेला पारेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति हेर्दा दुर्घटना वा अन्य कुनै कारण हुन सक्ने आशंकामा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको छ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा प्रहरी टोलीसमेत घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै आवश्यक प्रमाण संकलन गरेको जनाएको छ।
शव फेला परेको स्थान इलाका प्रहरी कार्यालय समनपुरबाट करिब ४ किलोमिटर पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुलाउन तथा घटनाको वास्तविकता पत्ता लगाउन आसपासका स्थानीयसँग सोधपुछ गर्नुका साथै आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको जनाएको छ। साथै घटनासम्बन्धी कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।






