काठमाडौँ , पुस ९ । काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोमा तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स’ लगाएर खेल नियन्त्रण गर्ने आरोपमा सात जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत पक्राउबारे जानकारी गराएको छ। प्रहरीका अनुसार, भारतबाट आएको गिरोहले क्यासिनो इभेन्ट आयोजना गर्ने बहानामा स्क्याम गरेर ठगी गर्ने कार्य गर्दै आएको थियो।
एसएसपी रमेश थापाका अनुसार, पक्राउ परेका सातैजनाले खेलाडीको नजर भ्रमित गरी खेलमा नक्कली फाइदा उठाउने प्रविधि प्रयोग गरिरहेका थिए। उनीहरूले चिपमार्फत कार्डको संकेत बुझ्ने र आँखामा लगाएका विशेष लेन्समार्फत खेलको क्रममा हुने कार्डको स्थिति हेरेर अन्य सहभागीबाट रकम ठगी गर्ने योजनामा संलग्न थिए।
प्रहरीले घटनास्थलबाट प्रयोगमा रहेका चिप, लेन्स र अन्य उपकरणहरू बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान जारी छ र पक्राउ परेका व्यक्तिहरूलाई कानून बमोजिम आवश्यक कारबाहीका लागि तयार गरिएको प्रहरीले जनाएको छ।
यो घटनाले ठमेल क्षेत्रमा सञ्चालन हुने अवैध क्यासिनो तथा गेमिङ गतिविधिहरूमा प्रहरीले निगरानी बढाएको संकेत दिएको छ। आगामी दिनमा यस किसिमका अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र नियन्त्रणका लागि थप कदम चालिने जनाइएको छ।




