कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल



काठमाडौँ , पुस ९ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रक्रिया तोकिएको समयसीमाभित्र पूरा हुन सकेको छैन। महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले बुधबार मध्यान्ह १२ बजेसम्म सबै जिल्ला समितिलाई नवीकरणसम्बन्धी फाइल सर्भरमा अपलोड गर्न निर्देशन दिएको थियो। समयसीमाभित्र फाइल नपठाए सर्भरमा इन्ट्री गर्न दिइएको ‘एक्सेस’ बन्द गरिने चेतावनीसमेत समितिले दिएको थियो।

तर, उक्त निर्देशनअनुसार ९ जिल्ला समितिले सदस्यता नवीकरणको फाइल सर्भरमा अपलोड गर्न सकेनन्। समिति सदस्य योगेन्द्र चौधरीका अनुसार कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ९ जिल्लाले तोकिएको समयमा फाइल अपलोड नगरेका हुन्।

कोशी प्रदेशका संखुवासभा र खोटाङले नवीकरणको फाइल सर्भरमा अपलोड गरेका छैनन्। खोटाङ जिल्लामा जिल्ला सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेकाले नवीकरण प्रक्रिया नै अगाडि बढ्न नसकेको जनाइएको छ।

मधेस प्रदेशमा धनुषा, महोत्तरी र बारा जिल्लाले सदस्यता नवीकरणको फाइल अपलोड नगरेका छन्। यस्तै बागमती प्रदेशको दोलखा, लुम्बिनी प्रदेशको प्यूठान तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाले पनि तोकिएको समयमा फाइल अपलोड गर्न नसकेको समिति स्रोतले जनाएको छ।

यसैबीच, यी ९ जिल्लाबाहेक थप ५ जिल्लाले पनि सर्भरमा नवीकरणको तथ्यांक अपलोड गरेका छैनन्। तर ती जिल्लाहरूले एक्सेल फाइल भने इमेलमार्फत केन्द्रमा पठाइसकेको चौधरीले जानकारी दिए। एक्सेल फाइल पठाउने जिल्लामा दाङ, तनहुँ, नवलपरासी पश्चिम, रुकुम पूर्व, बर्दिया र डोटी रहेका छन्।

समितिका अनुसार सर्भरमा प्रत्यक्ष अपलोड नभएसम्म सदस्यता नवीकरण प्रक्रिया औपचारिक रूपमा पूरा मानिँदैन। समयमै प्रक्रिया पूरा नगर्ने जिल्लाप्रति केन्द्रीय समितिले थप निर्णय लिन सक्ने संकेतसमेत दिएको छ।

प्रकाशित मिति: २०८२ पुष १०, बुधवार १२:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको