शितलहरले मधेशको जनजीवन प्रभावित, विद्यालयहरू धमाधम बन्द हुँदै



जनकपुरधाम, पुस ९ । एक सातादेखि लगातार जारी शितलहरका कारण मधेश प्रदेशको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । चिसो अत्यधिक बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ भने बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा परेका छन् ।

बिहान र साँझ बाक्लो कुहिरो लाग्ने, चिसो हावा चल्ने तथा घाम नलाग्ने अवस्था रहेकाले जनकपुरधामसहित धनुषा, महोत्तरी, सर्लाही, सिराहा र रौतहट जिल्लामा चिसोको प्रभाव व्यापक देखिएको छ । अत्यधिक चिसोका कारण मानिसहरू घरबाहिर निस्कन सकिरहेका छैनन् । बजार, कार्यालय तथा सार्वजनिक स्थलहरूमा समेत भीड कम देखिन थालेको छ । चिसो बढेपछि स्थानीय तहहरुले आफनो क्षेत्रको मुख्यचोकहरुमा दाउरा बाल्ने व्यवस्था गरेको छ ।

शितलहरको प्रभाव बढेसँगै विभिन्न स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गर्न थालेका छन् । पर्सा , बारा सर्लाहीका केही पालिकाहरुले सूचना जारी गर्दै केही दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् । चिसोका कारण विद्यार्थीहरू बिरामी पर्न थालेपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको स्थानीय तहका अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार शितलहरका बेला रुघाखोकी, ज्वरो, दम, निमोनियालगायतका समस्या बढ्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक रहेको छ । अस्पताल तथा स्वास्थ्य चौकीहरूमा चिसोसम्बन्धी रोगका बिरामीको संख्या बढ्दै गएको जनाइएको छ ।

उता, शितलहरले दैनिक ज्यालादारी मजदुर, साना व्यवसायी तथा गरिब समुदायलाई सबैभन्दा बढी असर पारेको छ । काम गर्न नसक्दा आम्दानी घटेको उनीहरूको गुनासो छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन शितलहरको प्रभाव कायमै रहने सम्भावना रहेको छ । यस अवस्थामा न्यानो कपडा प्रयोग गर्न, आगो ताप्दा सावधानी अपनाउन र आवश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: २०८२ पुष ९, बुधबार ०८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको