श्याम कुमार ठाकुर
सिरहा, पुस ९। अत्यधिक शितलहर, चिसो हावा, बाक्लो कुहिरो र न्यून तापक्रमका कारण सिरहा जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो चिसोपनले विशेषगरी विपन्न तथा दलित समुदायका स्थानीय बासिन्दा बढी प्रभावित भएका छन् ।
यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाको श्री नन्दाबक्स गण, चोहर्वा व्यारेक सिरहाले शितलहरबाट प्रभावित स्थानीयलाई राहतस्वरूप सुकेको दाउरा वितरण गरेको छ । आज सिरहा जिल्लाको गोलबजार नगरपालिका–१० स्थित बुद्धचोक विचला टोल र धोविया धार क्षेत्रमा बसोवास गर्दै आएका दलित मुसहर समुदायलाई १ ट्रक सुकेको दाउरा वितरण गरिएको हो ।
दाउरा वितरण कार्यक्रम वडा नं. १० का वडा अध्यक्ष उपेन्द्र कुमार मुखियाको रोहबरमा सम्पन्न भएको थियो । नेपाली सेनाको टोलीले अत्यन्तै जोखिममा रहेका परिवारलाई प्राथमिकतामा राखी दाउरा उपलब्ध गराएको जनाएको छ ।
स्थानीय बासिन्दाहरूले शितलहरका कारण दैनिक जीवनयापनमा ठूलो कठिनाइ भोग्नुपरेको अवस्थामा नेपाली सेनाले समयमै सहयोग गरेको भन्दै प्रशंसा गरेका छन् । वडा अध्यक्ष उपेन्द्र कुमार मुखियाले पनि यस्तो विपद्को समयमा नेपाली सेनाले गरेको सहयोग उदाहरणीय रहेको बताउँदै श्री नन्दाबक्स गण परिवार तथा सम्पूर्ण नेपाली सेनाप्रति धन्यवाद व्यक्त गरे ।
उनका अनुसार यस्ता मानवीय सहयोगका कार्यले सैनिक–नागरिक सम्बन्ध अझ सुदृढ बनाउने र संकटको समयमा राज्यको उपस्थिति अनुभूति गराउने गर्दछ ।
शितलहर अझै केही दिन रहने मौसम पूर्वानुमान रहेकाले स्थानीय तह र सरोकारवाला निकायलाई थप सतर्कता र राहतका कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।




