काठमाडौं , पुस ९ । नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा विभिन्न प्रदेशसभाका लागि समानुपातिक प्रणालीअन्तर्गत तयार गरिएको बन्द सूचीबाट १९ जनाको नाम हटाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय भएको जानकारी दिए। उनका अनुसार ती नेताहरूलाई अब प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ र राष्ट्रियसभामा समेत उम्मेदवार बन्ने बाटो खुला गरिएको छ।
प्रवक्ता महतले पार्टीको निर्णय कार्यान्वयनका लागि निर्वाचन आयोगमा औपचारिक जानकारी गराइने र सम्बन्धित प्रदेशसभाको बन्द सूचीबाट नाम हटाउन आयोगलाई पत्राचार गर्ने निर्णयसमेत भएको बताए। यस निर्णयसँगै कांग्रेसले आगामी राजनीतिक रणनीति र उम्मेदवार व्यवस्थापनलाई थप लचकदार बनाउने संकेत दिएको विश्लेषण गरिएको छ।
पार्टीभित्र लामो समयदेखि समानुपातिक सूचीमा रहेका नेताहरूलाई प्रत्यक्ष निर्वाचनमा समेत अवसर दिनुपर्ने आवाज उठ्दै आएको थियो। सोही पृष्ठभूमिमा कार्यसम्पादन समितिले सूची संशोधनको निर्णय गरेको नेताहरूको भनाइ छ। यसले पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न र विभिन्न तहका नेताहरूलाई समेट्ने प्रयासका रूपमा हेरिएको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचनको तयारी, उम्मेदवार छनोट प्रक्रिया तथा पार्टी संगठन सुदृढीकरणका विषयमा पनि छलफल भएको बताइएको छ। कांग्रेस नेतृत्वले आगामी दिनमा अन्य सूचिहरूको समेत पुनरावलोकन हुन सक्ने संकेत गरेको छ।
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको अर्को बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने तय भएको छ। सो बैठकमा थप राजनीतिक निर्णय र संगठनात्मक विषयमा छलफल हुने पार्टी स्रोतले जनाएको छ।
प्रदेश र संघीय तहको राजनीतिमा सक्रिय भूमिका खेल्दै आएको कांग्रेसको यो निर्णयले आगामी दिनमा राजनीतिक समीकरण र उम्मेदवार चयन प्रक्रियामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।






