शीतलहर र चिसो बढेपछि रौतहटका ७ स्थानीय तहले विद्यालयमा दियो जाडो बिदा 



ओम प्रकाश यादव
रौतहट ,पुस ९  । लगातारको शीतलहर र अत्यधिक चिसोका कारण रौतहट जिल्लाका ७ वटा स्थानीय तहले सामुदायिक विद्यालयमा जाडो बिदा दिने निर्णय गरेका छन्।

चिसोबाट बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै स्थानीय सरकारले धमाधम सामुदायिक विद्यालयहरू बन्द गर्न थालेका हुन्।

जिल्लाको गौर, परोहा, बृन्दावन, राजदेवी, ईशनाथ, राजपुर तथा गढीमाई नगरपालिकाले आ–आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूमा जाडो बिदा घोषणा गरेका छन्।

ती स्थानीय तहले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण विद्यार्थीको नियमित पठनपाठन प्रभावित हुन थालेकाले अस्थायी रूपमा आजदेखी विद्यालय बन्द गरिएको जनाएका छन्।

स्थानीय सरकारका अनुसार बिहान र साँझको समयमा बाक्लो कुहिरो, चिसो हावा र शीतलहरका कारण साना बालबालिका विद्यालय आउन–जानसमेत कठिन भइरहेको छ।

विशेषगरी न्यानो कपडा, दाउरा तथा पर्याप्त हीटरको व्यवस्था नभएका विद्यालयहरूमा अध्ययनरत बालबालिकालाई जोखिम बढेको भन्दै जाडो बिदा दिनुपरेको हो।

अभिभावकहरूले पनि चिसो बढेसँगै बालबालिकालाई विद्यालय पठाउन कठिन भएको गुनासो गर्दै आएका थिए। कतिपय स्थानमा बालबालिकामा रुघाखोकी, ज्वरो र निमोनियाजस्ता समस्या देखिन थालेपछि स्थानीय तहले तत्काल कदम चालेको जनाइएको छ।

स्थानीय तहहरूले मौसम अनुकूल नहुँदासम्म विद्यालय बन्द रहने र मौसममा सुधार आएपछि पुनः पठनपाठन सञ्चालन गरिने बताएका छन्। साथै, अभिभावकलाई बालबालिकालाई न्यानो कपडा लगाइदिन, बिहान–साँझ अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

यसैबीच, जिल्लाका अन्य स्थानीय तहहरूले पनि मौसमको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र आवश्यकता परे जाडो बिदा दिने तयारीमा रहेको जनाइएको छ।

प्रकाशित मिति: २०८२ पुष १०, बुधवार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको