युएईमा एकल आमाहरूको चुनौती र सामाजिक यथार्थ



काठमाडौँ , पुस  ९ । लाखौं नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिएका छन्, तीमध्ये करिब १२ प्रतिशत महिला छन्। युएईमा कार्यरत अधिकांश नेपाली महिला होटल, रेस्टुरेन्ट, सुपरमार्केट, क्लिनिङ, पार्लर र कार्यालयमा काम गर्दै आफ्ना परिवारको आर्थिक दायित्व पूरा गर्दै ठूलो मात्रामा रेमिटेन्स पठाउँछन्।

तर आर्थिक योगदानका बावजुद, उनीहरूको अधिकार र व्यक्तिगत स्वतन्त्रता अझै पनि सीमित रहेको छ। युएई महिलाका लागि अपेक्षाकृत सुरक्षित भए तापनि चेतनाको अभाव, पैसा र उमेर जस्ता कारणले केही महिला समस्यामा पर्छन्। कम उमेरमा विदेशिएका महिला परिवार र समाजबाट टाढा, एक्लोपन र भावनात्मक सहाराको खोजीमा परेर कहिलेकाहीँ अवैध सम्बन्धमा फस्छन्।

यसका परिणामस्वरूप, विवाह बाहेकको सम्बन्धमा गर्भवती हुने महिलाहरू रोजगारी गुमाउने, अवैध बसाइ र सामाजिक लाञ्छनाको जोखिममा पर्छन्। युएईमा वैवाहिक सम्बन्धबाहेक बच्चा जन्माउन कानुनी र सांस्कृतिक रूपमा चुनौतीपूर्ण छ, तर हालैको सुधारले आमाको नाममा जन्म दर्ता सम्भव बनाएको छ।

शारजहाँकी रोजा (नाम परिवर्तन) उदाहरणले यो कठिन यथार्थ उजागर गर्छ। उनका आमाले विवाह बाहेक बच्चा जन्माएकाले सामाजिक दोषारोपण झेल्नुपरेको छ। रोजा र यस्ता बच्चाहरूले नेपालमा नागरिकता प्राप्तिका लागि पनि संघर्ष गर्नु परेको छ। हालको विधेयकले केही राहत दिएको भए पनि एकल आमाको सन्तानको अधिकार सुनिश्चित गर्न अझै स्पष्ट कानुनी व्यवस्थाको आवश्यकता छ।

विदेशमा काम गर्ने महिला र एकल आमाको सामाजिक, आर्थिक र कानुनी सुरक्षा सुनिश्चित गर्नु जरूरी छ। विवाहबाहेकका सम्बन्ध, लिभिङ टुगेदर, र सन्तानको हक सुनिश्चित गर्दै महिलाहरूलाई सम्मानपूर्वक बाँच्ने अधिकार प्रदान गर्नु अब नेपाली समाजको चुनौती बनेको छ। यसैसँग लैंगिक विभेद कम गर्दै पुरूषले पितृत्व र आर्थिक जिम्मेवारीबाट भाग्न नपाउने वातावरण सिर्जना गर्नु आवश्यक छ।

प्रकाशित मिति: २०८२ पुष १०, बुधवार १६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको