कर्णाली प्रदेश अस्पताल का तत्कालीन लेखा अधिकृतसहित तीन जना भ्रष्टाचारी ठहर



सुर्खेत , पुष  ९ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सार्वजनिक सम्पत्ति हिनामिनामा संलग्न तत्कालीन लेखा अधिकृतसहित तीन जना भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालत काठमाडौंले अस्पतालका दुई कर्मचारी र एक बैंक कर्मचारीको मिलेमतोमा २५ लाखभन्दा बढी रकम हिनामिना भएको ठहर गर्दै दोषी करार गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पतालका तत्कालीन लेखा अधिकृत शंकरप्रसाद सुवेदी, अस्पतालमा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ति शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरकी तत्कालीन इन्चार्ज गोमा सिंजाली मगरविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको अभियोगमा मुद्दा दायर गरेको थियो। सोही मुद्दामा विशेष अदालतले अन्तिम फैसला सुनाउँदै तीनै जनालाई भ्रष्टाचारी ठहर गरेको हो।

अख्तियारका अनुसार १ साउन २०८० देखि ३२ साउन २०८१ सम्मको अवधिमा अस्पतालमा संकलन भएको ३४ लाख ३ हजार ८ सय ५६ रुपैयाँमध्ये ८ लाख ३६ हजार ३ सय ३० रुपैयाँ मात्र अस्पतालको खातामा दाखिला गरिएको थियो। बाँकी २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ हिनामिना भएको तथ्य अनुसन्धानबाट पुष्टि भएको थियो।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले अस्पतालको सामाजिक सेवा इकाइ तथा साधारण सेवातर्फ संकलन भएको रकम अनधिकृत रूपमा बैंकमा दाखिला नगरी हिनामिना गरिएको ठहर गरेको छ।

अदालतका अनुसार तृप्ति शाहीले अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी डल्फिन सफ्टवेयर प्रयोग गरेर रकम संकलन गरेकी थिइन्। बैंक काउन्टर इन्चार्ज गोमा सिंजाली मगरले अनधिकृत प्रवेश दिनुका साथै संकलित रकम बैंकमा दाखिला नगरेको ठहर भएको छ। यस्तै, लेखा अधिकृत सुवेदीले संकलित रकमको नियमित परीक्षण र खातामा दाखिला गराउने जिम्मेवारी पूरा नगरेको अदालतको निष्कर्ष छ।

विशेष अदालतले तीनै जनाले आपसी मिलेमतोमा लापरवाही गर्दै सार्वजनिक रकम हिनामिना गरेको ठहर गरेको छ। अदालतले उनीहरूमाथि १८ पुस २०८२ मा सजाय निर्धारण गर्ने मिति तोकेको छ।

प्रकाशित मिति: २०८२ पुष ९, बुधबार १३:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको