काठमाडौँ ,पुस १० । नेपाली कांग्रेसमा हालसम्म डेढ लाख नयाँ क्रियाशील सदस्य थपिएका छन्। महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार, नयाँ सदस्यता सर्भरमा इन्ट्री भइसकेको छ भने बाँकी फारम थपिने क्रम जारी छ।
‘हामीले ६ लाख नयाँ क्रियाशील सदस्यताको फारम क्षेत्र–क्षेत्रमा पठाएका थियौँ। तीमध्ये डेढ लाख सदस्यता सर्भरमा इन्ट्री भइसकेका छन्,’ चौधरीले जानकारी दिए। नयाँ सदस्यता फारम पहिलो चरणमा भदौ २३ र २४ गते जेनजी आन्दोलनअघि वितरण गरिएको थियो। आन्दोलनपछि चार लाख फारम थप पठाइएको थियो। प्रारम्भिक फारममा सिरियल नम्बर नहुने समस्या देखिएपछि ती फारम रद्द गरेर नयाँ फारम पठाइएको थियो।
यद्यपि, अहिलेसम्म दुई क्षेत्रमा फारम नपुगेको छ। बारा प्रतिनिधिसभा क्षेत्र नम्बर १ र खोटाङमा नयाँ क्रियाशील सदस्यताको फारम नपुगेको चौधरीले बताए। खोटाङमा जिल्ला सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेपछि सदस्यता वितरण र नवीकरण प्रक्रिया सुरु हुन सकेको छैन। बारा–१ मा वर्षौँदेखिको विवाद मिल्न नसक्दा फारम वितरण र नवीकरण अझै हुन सकेको छैन।
कांग्रेसले नयाँ सदस्यता वितरणमा केही फितलो बनाउँदै पनि सक्दो शतप्रतिशत नयाँ सदस्य थप्ने रणनीति लिएको छ। यसअघि १४औँ महाधिवेशनमा पुराना सदस्यको २५ प्रतिशत मात्र नयाँ सदस्य थपिएको थियो। २०७८ सालमा भएको १४औँ महाधिवेशनमा ८ लाख ६७ हजार ८७० क्रियाशील सदस्य थिए।
१५औँ महाधिवेशनका लागि अझै सदस्य नवीकरणको काम सकिएको छैन। कांग्रेसले नयाँ फारम माग अनुसार थप पठाउने व्यवस्था समेत गरेको छ।




