काठमाडौँ , पुस १० । सर्वोच्च अदालतमा गत भदौ २४ गते भएको आगलागीका कारण जलेका मुद्दामध्ये हालसम्म ८ हजार थान मिसिल पुनः प्राप्त भएका छन् ।सर्वोच्च प्रशासनका अनुसार आगलागीमा परेका कुल २० हजार ३४ थान मुद्दामध्ये चालु मुद्दाका करिब ४ हजार २०० मिसिल भने सुरक्षित नै रहेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबारसम्म प्राप्त भएका ८ हजार मिसिलको प्रमाणीकरणसमेत सम्पन्न भइसकेको छ । तीमध्ये केही मुद्दामा सुनुवाइका लागि पेसीसमेत तोकिसकिएको छ । महान्यायाधिवक्ता कार्यालय, मुद्दाका पक्ष–विपक्ष र अन्य सरोकारवालामार्फत मिसिल संकलनको काम जारी रहेको उनले जानकारी दिए ।
सर्वोच्चले मंसिर १ गतेदेखि सरोकारवालासँग जलेका मिसिल माग गर्न सुरु गरेको हो । पक्षहरूलाई पुस मसान्तसम्मको समय दिइएको छ । हाल दैनिक करिब ४ सयको हाराहारीमा मिसिल प्राप्त भइरहेको सर्वोच्चले जनाएको छ । सरकारवादी मुद्दाका मिसिल महान्यायाधिवक्ता कार्यालयमार्फत बुझाइँदै आएको छ, जसअन्तर्गत हालसम्म ७२५ थान मिसिल बुझाइएको छ ।
प्राप्त मिसिलमध्ये ८० थान मुद्दामा सुनुवाइ सम्पन्न भइसकेको छ । मिसिलहरू मुद्दा हेर्ने रजिस्ट्रार, मुद्दा महाशाखा प्रमुख र सम्बन्धित फाँटको सुपरीवेक्षणपछि प्रमाणीकरण गरिँदै आएको छ ।
आन्दोलनका क्रममा देशभरका २३ अदालतमा तोडफोड र आगजनी हुँदा करिब ९ लाख ३३ हजारभन्दा बढी मिसिल पूर्ण रूपमा नष्ट भएका थिए ।
सर्वोच्च अदालतमा मात्र चालु मिसिलमध्ये करिब ८३ प्रतिशत जलेका थिए ।मिसिल पुनः प्राप्तिका लागि सर्वोच्चले ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२’ लागू गरेको छ ।
निर्देशिकाअनुसार विभिन्न सरकारी निकाय, अदालतका अभिलेख, विद्युतीय माध्यम र अन्य उपयुक्त स्रोतबाट मिसिल संकलन र वर्गीकरण भइरहेको छ । प्राप्त मिसिल सर्वोच्चको वेबसाइटमा अपलोड गरिने र सम्बन्धित निकायलाई समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।




