बालेन र कुलमान एक भएर ‘देश विकास पार्टी’ अघि बढाउने तयारी



काठमाडौं, पुस १० । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङ एक भएर ‘देश विकास पार्टी’मार्फत राजनीति अघि बढाउने तयारीमा जुटेका छन् । दुवै पक्षबीच सहकार्य लगभग टुंगोमा पुगेको उनीहरू निकट स्रोतहरूले बताएका छन् ।

कुलमान घिसिङनिकट ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसके पनि अब बालेन र कुलमान दुवै जना निर्वाचन आयोगमा दर्ता रहेको ‘देश विकास पार्टी’मै आबद्ध भएर अघि बढ्ने सहमतिमा पुगेका छन् । देश विकास पार्टीको अध्यक्ष सन्ध्या खनाल हुन् भने यसको चुनाव चिह्न ‘लौरो’ रहेको छ । यही चिह्नबाट २०७९ को स्थानीय तह निर्वाचनमा बालेन शाह काठमाडौं महानगरको मेयर निर्वाचित भएका थिए ।

स्रोतका अनुसार देश विकास पार्टीबाट प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवार उठाउने सहमति भइसकेको छ । सोहीअनुसार ११० क्षेत्रका उम्मेदवार टुंग्याएर पुस १३ र १४ गते निर्वाचन आयोगमा बन्दसूची बुझाउने तयारी भइरहेको छ ।

मेयर बालेनले कुलमान घिसिङसँग मात्र नभई जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरूसँग पनि छलफल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाहेकका नयाँ दल, अभियान र स्वतन्त्र व्यक्तिहरूलाई समेटेर पार्टी अघि बढाउने रणनीति बनाइएको स्रोतले जनाएको छ ।

हालै रास्वपा सभापति रवि लामिछाने र बालेनबीच लामो छलफल भए पनि ठोस सहमति बन्न नसकेको बताइएको छ । रास्वपाबाट स्पष्ट प्रस्ताव नआएपछि बालेनले वैकल्पिक रूपमा देश विकास पार्टीलाई सक्रिय बनाउने गृहकार्य अघि बढाएको उनीनिकट स्रोतको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूची बुझाउने समय नजिकिँदै गएपछि बालेनले राजनीतिक भेटघाट तीव्र बनाएका छन् । साथै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार खोजीसमेत भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: २०८२ पुष ११, बिहिवार १२:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको